दुई बैंकको शेयर कारोबार रोक्का

३० जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको शेयर कारोबार जेठ ३० गतेदेखि रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यी दुबै बैंकको मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गरेको हो ।

मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेण्ट बैंकबीच जेठ २७ गते शुक्रबार मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

frontline

दुबै बैंकहरूले मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी नेप्सेलाई गराउँदै शेयर कारोबार रोक्का गर्न अनुरोध गरेसँगै नेप्सेले कारोबार रोक्का गरेको हो ।

हिमालयन बैंकसँगको मर्जर सम्झौता असफल भएसँगै नेपाल इन्भेष्टमेण्ट बैंक मेगा बैंकसँग मर्जरमा जान लागेको हो । हिमालयन बैंकसँगको मर्जरका कारण २०७८ साल बैशाख ३१ गतेदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार जेठ १६ गतेदेखि खुला भएको थियो । मेगा बैंक नेपालसँगको मर्जरका कारण नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार फेरी रोक्का भएको हो । 

मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्र अनुसार मर्ज पछि बन्ने बैंकको नाम ’नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ । अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा इन्भेष्टमेण्ट बैंकबाटै प्रतिनिधित्व रहनेछ । अन्य संचालक भने दुवै बैंकबाट  प्रतिनिधित्व रहने भएको हो ।

यी दुई बैंकबीच १०० बराबर ९० को शेयर आदानप्रदान गर्ने प्रारम्भिक सम्झौता भएको हो । आगामी ६ महिनाभित्र मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार गर्ने योजना बैंकहरूको छ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी रू. १८ अर्ब ३० करोड र मेगा बैंक नेपाको चुक्ता पुँजी रू. १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी रू. ३२ अर्ब पुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेगा बैंकको वितरणयोग्य नाफा रू. ९६ करोडभन्दा बढी रहेको छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको रू. ४७ करोडभन्दा बढी छ । 

हाल मेगा बैंकको जगेडा कोष रकम रू. १४ अर्ब अर्बभन्दा बढी र नेपाल इन्भेष्टमेण्ट बैंकको रू. ५ अर्बभन्दा बढी रहेको छ । मेगा बैंकको कर्जा लगानीतर्फ रू. १ खर्ब ५० अर्बभन्दा बढी छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको रू. १ खर्ब ७३ अर्बभन्दा बढी छ ।

निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको रू. रू. १ खर्ब ८२ अर्बभन्दा बढी र मेगा बैंक नेपालको रू. १ खर्ब ५२ अर्बभन्दा बढी रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here