दाङका तत्कालीन प्रमुख इन्जिनियर पाण्डेसहित ६ जनाविरुद्ध मुद्दा दायर
१४ मंसिर, काठामाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख इन्जिनियर राजेन्द्र प्रसाद पाण्डेसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले ४३ लाख २२ हजार १५५ रुपैयाँ गैरकानुनि लाभ तथा हानी पुर्याएको भन्दै पाण्डेसहित तत्कालीन इन्जिनियर सन्तोग कुमार यादव, सव-इन्जिनियर नारायण ओली र उभक्तो समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री र सचिव लालबहादुर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सल्यानको त्रिवेणी गाउँपालिका वाडा १ स्थित रिखेबगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि डिभिजन कार्यालय दाङबाट विनियोजन भएको रकम हिनामिना गरेको आरोप उनीहरुलाई लागेको छ।
उनीहरुले सम्झौताको शर्त र स्वीकृत लागत अनुमान विपरित, भेरिएशन स्वीकृत नगराई जथाभावी निर्माण कार्य गरेको र मूल्याकंन बिल र नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो बराबरको रकम भुक्तानी लिएका थिए।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा मुद्दा दायर भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्