दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रहरीका अनुसार असल चालचलन रहेको भन्दै संविधान दिवसको दिन कैद मिनाह पाएर छुटेका उनै कोइरालाले पूर्वपत्नीसहित दुई छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा रहेको सुजन कोइरालाको घरमा तीनजनाको हत्या भएको घटना भएको छ।
  • प्रहरीले हत्या स्वीकार गरेका सुजन कोइरालालाई हिरासतमा लिएको र घटनाको कारण अझै खुल्न बाँकी रहेको जनाएको छ।
  • अघिल्लो वर्ष जेल परेका सुजनले आफ्नै पूर्वपत्नी र दुई छोरीलाई पनि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

१४ जेठ, काठमाडौं । बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा रहेको सुजन कोइरालाको घरमा केही दिन यता किचन र्‍याक बनाउने काम भइरहेको थियो । र्‍याक बनाउने मिस्त्री सधैं झैं बुधबार पनि बिहानै कोइरालाको घरमा पुगे, र भित्र पसे । तर, घरभित्रको अवस्था भने भयावह थियो । रक्ताम्य अवस्थामा भुइँमा तीन जना ढलेका थिए ।

घाँटी रेटिएको, आलो रगत गन्हाएको, घरपर भुइँ र कपडामा समेत रगतले भिजेर कट्कटिएका थिए । एक महिला र दुई बच्चा (बालिका) भुइँमा ढलेको देखेपछि मिस्त्रीले काम सुरु गरेनन् । फुत्त घरबाट बाहिर निस्किए, अनि वरपरका स्थानीयलाई खबर गरे ।

उनै मिस्त्रीले प्रहरीलाई पनि खबर गरे । मिस्त्रीबाट माथि उल्लेखित सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा एसपी प्रदीप क्षेत्रीले अनलाइनखबरलाई बताए ।

प्रहरी घटनास्थल पुग्दा तीन जना भुइँमै ढलेका थिए । शरीर चिसो भइसकेको थियो । प्रारम्भिक अनुसन्धानमै तीन जनाको हत्या भएको निष्कर्ष निकाल्न प्रहरीलाई गाह्रो भएन । उक्त घरधनीबारे सोधीखोजी गर्दा सुजन कोइराला एक्लै बस्दै आएको खुल्यो ।

३५ वर्षीय कोइराला त्यतिबेला पनि घरमै थिए । उनलाई नियन्त्रणमा लिएर सामान्य सोधपुछ गर्ने बित्तिकै उनले हत्या स्वीकारे । त्यसपछि प्रहरीले उनलाई अहिले हिरासतमा लिएको छ । तीन जनाको हत्यामा रुपन्देही जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने एसपी क्षेत्रीले बताए ।

दाइ मारेर जेल

रुपन्देही प्रहरीको हिरासतमा रहेका कोइरालाको पृष्ठभूमि आपराधिक छ । उनी पक्राउ परेपछि प्रहरीले विगत केलाउँदा यसअघि पनि हत्यामा जेल परेर निस्केका व्यक्ति रहेको खुलेको हो ।

उनले २०६९ सालमा आफ्नै सहोदर दाजुको हत्या गरेको पाइएको एसपी क्षेत्रीले बताए । सामान्य विवाद हुँदा उनले दाजुको हत्या गरेका थिए ।

दाइको हत्यामा उनलाई रुपन्देही जिल्ला अदालतले २० वर्ष कैदको सजाय सुनाएको थियो । यो मुद्दा भने उच्च हुँदै सर्वोच्चसम्म पुगेको थियो ।

सर्वोच्चले उने कोइरालाको कैद अवधिलाई १६ वर्षमा झारिदियो । सर्वोच्चबाट १६ वर्ष कैद सजाय तोकिएका कोइराला भने ९ वर्ष मात्रै जेल बसेर छुटे । ५० प्रतिशत कैद भुक्तान गरेको र असल चालचलन भएको भन्दै संविधान दिवसको अवसरमा २०७८ सालमा उनी कैद मुक्त भएका थिए ।

प्रहरीका अनुसार असल चालचलन रहेको भन्दै संविधान दिवसको दिन कैद मिनाह पाएर छुटेका उनै कोइरालाले पूर्वपत्नीसहित दुई छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

छुटेपछि पूर्वपत्नी र २ छोरीको हत्या

दाइको हत्या गरेकै साल २०६९ मा कोइरालाले दीपा बस्यालसँग विवाह गरेका थिए । उनीसँग विवाह गरेको केही समयमै दाइको हत्या अभियोगमा जेल गए । बिहे गरेलगत्तै जेलपछि दीपा र सुजनको वैवाहिक सम्बन्ध पनि लामो समय गएन ।

प्रहरीका अनुसार उनीहरूले २०७२ मा सम्बन्ध बिच्छेद गरे । त्यसपछि दीपाले दोस्रो विवाह गरिन् । दोस्रो श्रीमान् पक्षबाट दीपाले दुई छोरीको जन्म दिएकी थिइन् । अहिले जेठी छोरी स्नेहा ७ वर्ष र कान्छी छोरी हिमानी ४ वर्षका भएका थिए ।

तर उनीहरू तीनै जना (दीपा र दुई छोरी) को पूर्वपती सुजनले निमर्मतापूर्वक हत्या गरे । प्रहरी स्रोतका अनुसार दीपा र सुजन पछिल्लो समय भने नजिकिएका थिए । हत्याको अघिल्लो दिनभरि उनीहरूले घुमघाम गरेको प्रहरी स्रोत बताउँछ ।

अनि त्यसराति दीपा र उनका दुई छोरीलाई आफ्नै घरमा बस्न भनेपछि सबै जना सुजनको घरमा बसेका थिए । तर बिहानीपख ४ बजेतिर भने सुजनले तीनै जनाको हत्या गरेको पाइएको प्रहरीले बताएको ।

तीनै जनालाई घाँटीमा चक्कु प्रहार गरेको देखिएको प्रहरीले बताएको छ । घाँटीमा चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएपछि ह्याम्बरले टाउकामा समेत प्रहार गरेको देखिएको प्रहरीले बताएको छ ।

हत्या गरेको सुजनले स्वीकार पनि गरेका प्रहरीले बताएको छ । हत्यापछि उनी घरबाटै कतै नभागी घरमै बसेका थिए । प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

हत्या किन गरे भन्नेबारे अहिलेसम्म यकिन कारण भने खुलिनसकेको एसपी क्षेत्री बताउँछन् । ‘हत्या स्वीकारेका छन् । तर के कारणले हत्या भयो भन्ने खुल्न बाँकी छ’ एसपी क्षेत्री भन्छन् ।

सुजन अहिले इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् । शव भने पोस्टमार्टम गरेर आफन्तलाई बुझाइने प्रहरीले बताएको छ ।

अपराध |रुपन्देही

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here