दहचोकमा इन्द्रजात्रा मेला

काठमाडौँ, ४ असोज (रासस) : धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चन्द्रागिरि नगरपालिका–१ दहचोकमा इन्द्रजात्रा मेला प्रारम्भ भएको छ ।

वर्षा एवं सहकालका देवता इन्द्रको पूजा हुने जात्राका रुपमा लिइने इन्द्रजात्रा आइतबार साँझ दीप प्रज्ज्वलन गरी प्रारम्भ गरिए पनि आज भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नान मेला लागेको छ ।

frontline

हरेक वर्ष दहचोक मेलाका लागि आयोजक समिति गठन गरेर व्यवस्थापन गरिँदै आए पनि यस वर्ष कोरोनाका कारण भक्तजनको न्यून सहभागिता रहेको चन्द्रागिरि नगरपालिका–१ का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो ।

दहचोक १०० गन्तव्यस्थलभित्रको इन्द्रदह÷काजी कालु पाण्डे समाधिस्थल क्षेत्रमा परापूर्वकालदेखि भाद्र शुक्ल पूर्णिमाका दिन मनाइँदै आएको छ ।

इन्द्रजात्रा÷इन्द्र दह स्नान मेलामा कोरोना भाइरसको सङ्क्रमणका कारण भक्तजनको उपस्थिति न्यून रहेको उहाँले बताउनुभयो । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्रदह स्नानका लागि भक्तजनको घुइँचो लाग्छ ।

अहिले उक्त क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण गरिएको छ । करिब २०० रोपनीे क्षेत्रफलमा फैलिएको सांस्कृतिक महत्वको इन्द्रदह परिसरलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार, भ्यूटावर, बहुउद्देश्यीय भवनलगायत निर्माण गरिएको छ ।

काठमाडौँको कलङ्कीदेखि पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिकोणले रमणीय र आकर्षकस्थल मानिन्छ । यहाँबाट काठमाडौँ उपत्यका एकसाथ अवलोकन गर्न सकिन्छ ।

सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका स्थान थुप्रै छन् । दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, कालु पाण्डेको समाधिस्थल, ओढारलगायत पर्यटकीयस्थल प्रमुख आकर्षण मानिन्छन् ।

दहचोकस्थित कालु पाण्डेको समाधिस्थल ऐतिहासिकतामा आधारित महत्वपूर्णस्थल हो । सो स्थल दहचोकको सबैभन्दा अग्लो भाग छ । पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा वीरगति प्राप्त गरेका पाण्डेले मृत्युपर्यन्त गोरखा देखिने स्थानमा आफ्नो टाउको राख्नू भन्ने इच्छा गरेअनुरुप उहाँको समाधि बनाइएको बताइन्छ ।

दहचोकको इन्द्रदहमा स्नान गर्नाले जस्तोसुकै रोग पनि निको हुन्छ भन्ने जनविश्वास छ । सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलामा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास छ ।

दहचोक डाँडाबाट उत्तरतर्फ नीलगिरि, धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, लाक्पादोर्जेलगायत हिमाल तथा गोरखा, नुवाकोट, रसुवा, धादिङ र काठमाडाँै उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here