त्रिशूली–रसुवागढी सडकको बुधसिंहघाटमा पहिरो खसेर सडक पूर्ण अवरुद्ध
१४ असोज, नुवाकोट । त्रिदेशीय मार्गको रुपमा रहेको गल्छी–त्रिशूली–रसुवागढी सडकमार्ग अन्तर्गत नुवाकोटको बुधसिंहघाटमा पहिरो खसेर सडक पूर्ण अवरुद्ध भएको छ।
सो सडकमार्ग अन्तर्गत रहेको बेलकोटगढी नगरपालिका ७ बुधसिंहघाटमा बिहीबार बेलुकी सुख्खा पहिरो जाँदा व्यस्त सडकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अन्तर्गत नुवाकोटको बुधसिंहघाटमा व्यस्त सडकमार्गमा माथिवाट दुई सय मिटर लामो सुख्खा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा वरिष्ठ प्रहरी नायव निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए। उनका अनुसार बडादसैंका क्रममा सो सडक अवरुद्ध हुँदा हजारौं सर्वसाधारण मर्कामा परेका छन्।
सुख्खा पहिरोले गल्छी–त्रिशूली–रसुवागढी सडकखण्ड अवरुद्ध हुँदा सयौं यातायातका साधन बीचमै रोकिएका छन् भने हजारौं यात्रुहरु बिलखबन्दमा परेका छन्। सो सडकमार्गमा माथिबाट दुई सय मिटर उचाई तथा तल दुई सय मिटर सडक पुरेको छ।
सो सडकमा दैनिक चार स्काभेटर लगाएर पहिरो पन्छाउँदासमेत लगातार दुई दिनसमय लाग्ने प्राविधिकहरुले अनुमान गरेका छन्। पहिरो पन्छाएर यातायात सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको र यात्रु तथा यातायातका साधनहरुलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न निर्देशन दिइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए। सुख्खा पहिराले सडक अवरुद्ध हुँदा सबै यातायातका साधन बीचमै रोकिएका छन्। आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन्।
जिल्ला प्रशासन कार्यालयले नुवाकोट हुँदै काठमाडौं जाने र काठमाडौंबाट नुवाकोट, रसुवा आउने यात्रु तथा यातायातका साधनहरुलाई पासाङल्हामु मार्गको वालाजु–रानीपौवा–तादीपुल तथा सामाखुसी–छहरे–गंगटे सडकमार्ग उपभोग गर्न आग्रह गरेको छ। अवरुद्ध सडकको पहिरो पन्छाउने कार्य जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस्