त्रियुगा नगरपालिकामा मतगणना सुरु
१० जेठ, उदयपुर । त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।
‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणना सुरु गरेका छौं ।’
त्रियुगा-१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो ।
सो केन्द्रमा पुन: मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरुबीच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन ।
विवादित उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुन:मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपालगायतले पुन: मतदानको माग राखेका थिए । नेकपा एमाले र कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्