त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

१६ जेठ, काठमाडौं । त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्राप्त गरे ।

frontline

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी महेश्वरी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९१८ मत र माओवादी केन्द्रकी गीता खड्काले ६ हजार ५६८ मत प्राप्त गरेकी छन् ।

नगरको १६ वडामध्ये कांग्रेस वडा नम्बर १, ३, ४, ५, ८, ९, ११, १२ र १३ मा प्यानलसहित विजयी भयो । एमालेले वडा नम्बर २, ६, ७ र १० वडामा विजय हासिल गरेको छ ।

माओवादी केन्द्रले वडा नम्बर १४, १५ र १६ मा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेस त्रियुगा नगरपालिकामा गठबन्धन विना एक्लै चुनाव लडेको थियो । उदयपुरका ८ पालिकामध्ये कांग्रेसले त्रियुगा, कटारी र बेलका नगरपालिकामा प्रमुख पदमा विजय हासिल गरेको छ ।

एमालेले चौदण्डीगढी नगरपालिकामा मात्र प्रमुख र उपप्रमुख जितेको छ भने कटारी, त्रियुगा र बेलका नगरपालिकामा उपप्रमुखमा विजय हासिल गरेको छ ।

माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकामा अध्यक्षमा विजयी भएको थियो भने सो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो । 

उदयपुरगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको अध्यक्षमा र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here