त्रिभुवन पार्क नजिकैको सडकको खाडल पुरियो
२ असार, काठमाडौं । थानकोट, त्रिभुवन पार्क अघिल्तिरको सडकमा परेको खाडल तत्कालका लागि पुरिएको छ ।
चन्द्रागिरि ३ स्थित शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) नजिकै राजधानी भित्रिने प्रमुख सडक मार्गमा बनेको खाडलका कारण सवारी आवागमनमा लामो समयदेखी समस्या उत्पन्न भइरहेकोमा बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा सो स्थानमा ग्राभेल राख्ने कार्य भएको बताइएको छ ।
सडक विभाग अन्तर्गत पर्ने सो सडक मार्ग नगरपालिकाले आफ्नै श्रोतबाट मर्मत गरेको नगरप्रमुख गिरीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
दैनिक हजाराैं सवारीसाधन ओहोर दोहोर गर्ने यस सडकको नागढुंगादेखी कलंकीसम्म विभिन्न स्थानमा बनेका खाडल समयमा नै मर्मत नहुँदा सवारी साधन तथा नजिकका घरहरूमा प्रत्यक्ष मार परिरहेको व्यापक जनगुनासो रहेको छ । यसबारेमा नगरपालिकाले तालुकदार निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधानका लागि खासै चासो नदिएकोले नगरले आफैं खर्च गरि अस्थायी रूपमा समस्या समाधान गरेको र यसको स्थायी मर्मतका लागि पत्राचार गरिएको नगरप्रमुख गिरीले जानकारी दिनुभयो । सो क्रममा चन्द्रागिरि ३, ४ र ७ का वडाध्यक्षसहित स्थानीयहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्