तीव्र गतिको रेलभित्र अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीन जना गम्भीर घाइते
२१ कात्तिक, जर्मनी : तीव्र गतिको रेलभित्र अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका छन्। चक्कु प्रहार गर्ने सिरियाली नागरिकालाई जर्मन प्रहरीले नियन्त्रणमा लिएको छ।
रेल भित्रका यात्रुमाथि उनले किन आक्रमण गरे भन्ने विषय खुलेको छैन। २७ वर्षीय आक्रमणकारी जर्मनीमा शरणार्थीको रुपमा बस्दै आएको अन्तर्राष्ट्रिय संचारमाध्यममा समाचार छ। रेलबाट सयौं यात्रुलाई उद्दार गरिएको बीबीसीले जनाएको छ।
अन्धाधुन्ध यात्रुहरुमाथि चक्कु प्रहार हुन थालेपछि रेल आकस्मिक रुपमा रोकिएको थियो। रेल रोके लगत्तै प्रहरीले ती आक्रमणकारीलाई पक्राउ गरेको थियो। आक्रमणकारी सिरियाली नागरिकालाई जर्मनीको सरकारले सन् २०१४ मा शरणार्थीको मान्यता दिएको थियो।
पछिल्लो समय आक्रमणकारी सिरियाली नागरिक मानसिक रोगबाट ग्रसित भएको जर्मनीका संचारमाध्यममा खबर छ। प्रहरीले उनीमाथि थप अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस्