तीनकुने काण्डको मुद्दा तयार,को को देखिए मतियार ?

चैत १५ गते तीनकुनेमा भएको राजावादी हिंसामा संलग्न १०८ जनाविरुध्द मुद्दा चलाउन रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले उक्त हिंसात्मक आन्दोलनका कमाण्डर दुर्गा प्रसाई,राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलसमशेर राणा र नेता रविन्द्र मिश्रलाई मुख्य आरोपी बनाएको छ । प्रहरीले झण्डै दुई महिना लगाएर उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।




आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुध्दको कसुर, आपराधिक उपद्रव,सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा प्रसाईंलाई ५ वटै कसूर लगाइएको छ भने राणा र मिश्रलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ताको तयारी गरेको थियो । तर,समय अभावका कारण आइतबारका लागि सारिएको जनाइएको छ ।
चैत १५ गते राजावादीको प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो । त्यस्तै, आन्दोलनकारीले व्यक्तिका निजी घर,पार्टी कार्यालय, सरकारी भवन र थुप्रै सवारी साधनमा आगजनी गर्नुका साथै कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट मच्चाएका थिए ।
यस प्रकरणमा मुद्दा चलाउन भनी राय दिइएका डेढ दर्जन अझै फरार छन् भने राणा र मिश्रसहित ९० जना हाजिर जमानीमा छुटिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्