तीनकुनेमा सविन ढले, यता घरको खम्बा

गाडी बनाएर आउँछु भन्दै घरबाट निस्किएका सविन तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ढलेका थिए । असैह्य पीडामा रहेको परिवारलाई न राज्यले सान्त्वना दिएको छ, न पीडित परिवारले उठाएको शहीद घोषणा र क्षतिपूर्तिको माग सम्बोधन भएको छ ।

१८ चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका–४ गाम्चाका २९ वर्षीय सविन महर्जन १५ चैतको बिहानै घरबाट निस्किएका थिए । काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने सविन गाडी बिग्रिएकाले बनाउन भन्दै घरबाट हिँडेका थिए ।

frontline

वृद्ध बाबुआमा, ८ वर्षकी छोरी र श्रीमती उनलाई पर्खिरहेका थिए । बिहान बित्यो, दिउँसो बित्यो गाडी बनाएर सविन आएनन् । अपराह्न हुँदै गर्दा खबर आयो, ‘तीनकुनेमा प्रहरीको गोली लागेर सविन ढले ।’ बिग्रिएको गाडी बनाउन भन्दै बल्खु हिँडेका सविन अब कहिल्यै फर्कने छैनन् ।

१५ चैतमा तीनकुनेलाई केन्द्र बनाएर राजावादीहरूले राजतन्त्र पुनस्र्थापनाको दबाबका लागि भन्दै प्रदर्शनको आयोजना गरेका थिए । गाडी बनाउन हिँडेका सविन कसरी त्यहाँ पुगे परिवार अनभिज्ञ छ । तर, प्रदर्शन चर्किंदै जाँदा प्रहरीसँग मुठभेड भएपछि प्रहरीले चलाएको गोली घाँटीमै लाग्दा सविन सडकमै ढले ।

यो पनि पढ्नुहोस

राजावादी विध्वंशको स्थलगत : अनि, रणमैदान बन्यो तीनकुने

गोली लागेको केहीबेरमै तीनकुने सडकमै प्राण त्यागेका सविनको शव चार दिनयता त्रिवि शिक्षण अस्पतालको शवगृहमा लडिरहेको छ ।

घटनाको चार दिनपछि कीर्तिपुर नगरपालिका–४ स्थित गाम्चा चोकबाट २०० मिटर उत्तरतर्फ हरियो रङ लगाएको एक तले घर छ । १५ गतेको बिहानसम्म त्यो घरमा खुसीयाली थियो । चार दिनयता रुवाबासी छ । श्रीमती छिनछिनमै बेहोस् हुन्छिन् । बुढेसकालको सहारा ढलेका आमा–बा निःशब्द छन् । ८ वर्षमै पिताको स्नेह र संरक्षण गुमाएकी छोरीको पीडा बयानगरी साध्य छैन ।

त्यो घर मात्र होइन, घरछिमेकसम्मे सन्नाटा छ । छिमेकीका अनुहार मलिन देखिन्छन् । गाउँका गुठियारहरू पनि अब के गर्ने, कसलाई पहल गर्ने भनेर छलफल गरिरहेका छन् । सविनको शव बुझ्न परिवारले मानिरहेको छैन । शहीद घोषणा र परिवारलाई क्षतिपूर्तिको माग सम्बोधन नभएसम्म शव नउठाउने अडानमा पीडित परिवार छ ।

प्रहरीको गोली लागेर मृत्यु भएको चार दिन भइसक्दा पनि सरकार वा आन्दोलनकारी पक्षले कुनै वास्ता नगरेको मृतकका काका किरण महर्जनले आरोप लगाए । उनले भने, ‘सविन बितेको आज चार दिन भइसक्यो । अस्पतालमा सविनको शव बेवारिसे अवस्थामा छ । न सरकार पक्षले कुनै चासो दिएको छ, न राजावादीले । हाम्रो परिवारको खम्बा नै ढलिसक्यो । तर, कसैलाई वास्ता छैन ।’

बुढेसकालको सहारा ढलेका आमा–बा निःशब्द छन् । श्रीमती छिनछिनमै बेहोस् हुन्छिन् । ८ वर्षमै पिताको स्नेह र संरक्षण गुमाएकी छोरीको पीडा बयानगरी असह्य छ ।

सुक्सुकाउँदै उनले भने, ‘राज्य पक्षले एउटा मजदुरको छोरालाई यसरी गोली हानेर मार्न मिल्छ ? त्यसपछि कुनै वास्तै नगरी बेवारिसे बनाउन मिल्छ ?’ सविनलाई सरकारले शहीद घोषणा गर्नुपर्ने उनले माग गरे । उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘प्रहरीको गोली लागेर मेरो परिवारको पिलर नै ढल्यो । परिवारमा कमाउने उही एकजना थियो । अब परिवार कसले हेर्छ ? त्यसकारण सरकारले परिवारलाई उचित क्षतिपूर्ति दिइयोस् । श्रीमती र छोरीको जिम्मा लेओस् ।’

यो पनि पढ्नुहोस

तीनकुनेमा देखिएको क्रूर दृश्य

सरकारले क्षतिपूर्ति र शहीद घोषणा नगरेसम्म शवको जिम्मा नलिने अडान उनले दोहोर्‍याए । ‘सविनलाई शहीद घोषणा नगरुञ्जेल हामी शवको जिम्मा लिँदैनौं,’ उनका काका महर्जनले भने ।

सर्वसाधारण हिँड्दा असुरक्षित हुने अवस्था आइसकेको भन्दै सरकारले चाँडै सम्बोधन गर्नुपर्ने उनी बताउँछन् । ‘सर्वसाधारण हिँड्न नसक्ने अवस्था आयो । सर्वसाधारण असुरक्षित हुने अवस्था आइसक्यो,’ उनले केन्द्रदेखि स्थानीय सरकारसँग अनुरोध गरे, ‘भोलि गोली खाएर कुनै पनि सर्वसाधारणले मर्नु नपरोस् । यसको उपाय चाँडै निकाल्दिनुहोला । हामी त्रसित मानसिकतामा छौं ।’

यो पनि पढ्नुहोस

ज्ञानेन्द्र, रवीन्द्र, मनीषा र गणतन्त्रवादीहरूका नाममा

सविनका माइला बुवा हरिकृष्ण महर्जनले सविनको मृत्युको खबरले गाउँ, समाज नै शोकमा डुबेको बताए । उनले भावुक हुँदै भने, ‘मेरो भाइको एक मात्र छोरा थियो सविन । उसैले परिवार पालिरहेको थियो । घरमा एक्लो कमाउने मान्छे बितेपछि हामी त सहाराबिहीन भएका छौं ।’
https://www.youtube.com/embed/C98_2C-uXyQ?si=cRjLBj6eY9JT4Mm0

उनले प्रहरीले घरमुली नै चुँडेर लगेकोमा परिवारको भरणपोषणको चिन्ता लागेको बताए । ‘हाम्रो परिवारलाई कमाएर पाल्ने सदस्य नै गुमेपछि छोरी, श्रीमतीलाई कस्ले पाल्छ ?’ उनले प्रश्न गरे, ‘के सरकारले छोरीलाई पढाइ दिन्छ ? श्रीमतीलाई जागिर दिन्छ ? परिवार कसरी पालिदिन्छ ? हामी मजदुरको पीडा कसले सुनिदिन्छ ?’

आफ्ना पीडामा राज्यले मल्हम नलगाएको पीडासँगै आक्रोश पनि बढ्दो छ ।

आक्रोश महर्जन परिवारमा मात्र होइन, आइतबारदेखि सामाजिक सञ्जालमा दौडिरहेको एउटा भिडियोले सर्वसाधारणको पनि बढाउँदैछ । भिडियोमा पछि हट्दै गरेका सर्वसाधारणलाई ताकेर प्रहरीले गोली चलाइरहेको छ । त्यही क्रममा पछि फर्किरहेका एक व्यक्तिलाई पछाडिबाट गोली लागेजस्तो देखिन्छ । ती व्यक्ति सडकमै ढल्छन् । एकैछिनमा रक्तमुछेल हुन्छन्, चलमलाउन छोड्छन् ।

यो पनि पढ्नुहोस

तीनकुनेमा राजावादीको आगजनी : २५ वर्षको मेहनत खरानी भयो

ती व्यक्ति सविन भएको र प्रहरीले सामान्य अवस्थामै गोली हानेको भन्दै सामाजिक सञ्जालमा सरकार र प्रहरीमाथि सर्वसाधारण खनिएका छन् । सर्वसाधारणले प्रहरीले यसरी निहत्था नागरिकमाथि बर्बरतापूर्वक गोली हान्न पाउँछ भन्ने प्रश्न गरिरहेका छन् ।

प्रहरी भन्छ : पछाडीबाट गोली हानिएको छैन

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले भने राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा भएको घटनामा पछाडीबाट कसैलाई पनि गोली नलागेको बताए । उनी भन्छन्, ‘तीनकुनेमा तीन जनालाई गोली लागेको थियो, त्यसमध्ये दुई जना वीरमा उपचाररत छन् । एक जना सविनको मृत्यु भइसकेको छ । तर, कसैलाई पनि पछाडीबाट गोली लागेको छैन । सामाजिक सञ्जालमा आएको भिडियो र अरुले लेखेको कुराको तालमेल मिल्दैन । यो पूर्ण रुपमा गलत छ ।’

उनका अनुसार वीर अस्पतालको आईसीयूमा उपचाररत घाइतेहरू शम्भु दर्जी र डिल्लीप्रसाद लुइँटेल हुन् । डिल्लीप्रसादको पेटमा र दर्जीको कुममा गोली लागेको छ । उनले तीनकुने घटनामा भएको गोलीकाण्डबारे नेपाल प्रहरीले आन्तरिक रूपमा छलफल गरिरहेको बताए । ‘अहिले बाहिर आएको भिडिओ क्लिपको वास्तविकताबारे आन्तरिक रूपमा बुझ्ने काम भइरहेको छ । हामीले एम्बुलेन्स चालकसँग पनि सोधपुछ गरिरहेका छौं ।’

यो पनि पढ्नुहोस

राजावादीकै बद्‌नाम गराए दुर्गा प्रसाईंले

तीनकुनेमा सरकारबाट बर्बर दमन भयाे : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने जिकिर गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गर्छन् ।

उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘शुक्रबार जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो । सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो ।’

लिङ्देनले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेका छन् । ‘शुक्रबारको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ लिङ्देनले भने ।

तीनकुने घटनाप्रहरीको गोली लागेर मृत्यु |राजावादी आन्दोलन सविन महर्जन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here