तीनकुनेको प्रदर्शनस्थलमा खटिएका अधिकृतहरूसहित ३५ प्रहरी कर्मचारीसँग सोधपुछ

समाचार सारांश
- काठमाडौंको तीनकुनेमा पूर्वराजाका समर्थकको प्रदर्शनमा सुरक्षा कमजोरीबारे छानबिन सुरु भएको छ। एसएसपी शेखर खनालको नेतृत्वमा समिति गठन गरिएको छ।
- दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनमा पत्रकार र एक जनाको मृत्यु भएको थियो। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिती भएपनि उद्धारमा ढिलाइ भएको आरोप छ ।
- छानबिन समितिले घटनास्थलमा खटिएका सुरक्षाकर्मीसँग बयान लिइरहेको छ। हालसम्म ३५ जनासँग सोधपुछ भइसकेको छ र पत्रकारको उद्धारमा भएको कमजोरीबारे छानबिन केन्द्रित छ।
काठमाडौँ । गत चैत १५ गते राजधानीको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले गरेको प्रदर्शनमा भएको सुरक्षा ‘कमजोरी’ बारे उपत्यका प्रहरी कार्यालयले आन्तरिक छानबिन गरिरहेको छ ।
एसएसपी शेखर खनाल नेतृत्वको समितिले घटनाबारे छानबिन गरिरहेको हो । छानबिन गर्ने समितिमा एसपीद्वय प्रवीण धिताल र अपिल बोहरा सहित ७ जना सदस्यहरू छन् ।




दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर सविन महर्जन र पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए । तर, २५ सयभन्दा धेरै सुरक्षाकर्मीको उपस्थिति रहेको मध्य सहरमा पत्रकार रजकको जलेर मृत्यु हुँदा पनि उद्धार गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
यही सन्दर्भमा सुरक्षा निकायको तर्फबाट भएको ‘त्रुटि’बारे छानबिन गर्न गठित समितिले घटनास्थलमा खटिएका सुरक्षकर्मीहरुसँग ‘बयान’ लिइरहेको छ । घटनास्थलमा खटिएका डिएसपीद्वय वीरेन्द्र गोदार र जयश्वर रिमाल सहितका अधिकृतहरूसँग सोधपुछ गरिएको छानबिनमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
उनका अनुसार हालसम्म अधिकृत र जुनियर प्रहरीसमेत ३५ जनासँग सोधपुछ गरिएको छ । ती अधिकृतले भने, ‘३५ जनासँग घटनास्थलको अवस्थाबारे सोधपुछ गरेका छौँ, थप बुझ्ने काम भइरहेको छ ।’
पत्रकार रजकको उद्धार गर्न नसकेको बारेमा समितिले छानबिन केन्द्रित गरेको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतका अनुसार समितिलाई त्यसबारे छानबिन केन्द्रित गर्न भनिएको छ । ती अधिकृतले भने, ‘मध्य सहरमा आगजनीमा परेर पत्रकारको मृत्यु हुँदा उद्धार नै गर्न नसक्ने अवस्था आउनु गम्भीर कमजोरी हो ।’
प्रदर्शनकारीको अवरोधपछि आगजनी भएको घरसम्म सुरक्षाकर्मीहरूले दमकल पनि लैजान सकेका थिएनन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वको दमकल चालक र त्यहाँ आगो नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी बलका ‘अग्नि नियन्त्रक’हरूसँग छानबिन समितिले सोधपुछ गरेको छ ।
उसो त उक्त दिनको प्रदर्शनका क्रममा दुर्गा प्रसाईं बागमती प्रदेश–०२७ च ३८४७ नम्बरको गाडी हुइँक्याउँदै प्रहरीको घेरा तोडेर बानेश्वरतर्फ गएका थिए ।
प्रदर्शनमा संलग्न दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र सहित ५२ जना अहिले हिरासतमा छन् । उनीहरुविरुद्ध प्रहरीले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्