तलब स्केलमा साढे दुई सय फरक, राज्यकोषमा २५ करोडको चाप

नेपाल प्रहरीमा वरिष्ठ नायव निरीक्षकको तलबमान तथा ग्रेड समायोजन गर्ने सरकारको निर्णयपछि राज्यकोषमा करिब २५ करोडको चाप परेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीलाई जेठ ४ गते पठाएको पत्रानुसार दुई हजारभन्दा बढी त्यस्ता कर्मचारीले माथिल्लो तहमा समायोजन हुँदा तल्लो तहमा खाइपाइ आएको तलबमानभन्दा २६२ रुपैयाँ कम हुन गएपछि सरकारले समायोजन गर्ने निर्णय गरेको छ ।
गत वैशाख ३१ गतेको क्याबिनेट बैठकले वरिष्ठ नायव निरीक्षकको तलबमान तथा ग्रेड समायोजन गरेको हो । प्रहरी नियमावली, २०७१ मा भएको संशोधनपछि पद सिर्जना भई प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका ती प्रहरी कर्मचारीहरुको समस्या समाधानका लागि उक्त निर्णय गरिएको बताइन्छ ।




स्वीकृत तलबमान अनुसार ग्रेड मिलान पश्चात कायम हुने तलबमान प्रहरी नायव निरीक्षक पदमा खाइपाई आएको तलबमान भन्दा दुई सय बैसठ्ठी रुपैयाँ कम हुन गएको थियो । त्यस्तै सर्वोच्च अदालतको गत साउन १६ गतेको उत्प्रेषणयुक्त परमादेश समेतका आधारमा सरकारले तलबमान समायोजन गर्ने निर्णय गरेको हो ।
यसअघि फैसला कार्यान्वयन गर्ने क्रममा गत मंसिर १३ गतेसम्म १९ करोड ८८ लाख २९ हजार ७१३ रुपैयाँ आवश्यक पर्ने देखिएको थियो । तर यहि जेठ ११ गतेसम्म कार्यरत एक हजार ३९० जना, प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका ३५९ जना, विभिन्न कारण बहाल टुटेका २७६ जना गरी कुल दुई हजार २५ जना प्रहरी वरिष्ठ नायव निरीक्षक कायम भएका छन् । त्यसका लागि आवश्यक २४ करोड ९५ लाख ३६ हजार २३९ रुपैयाँ थप बजेट सरकारले छुट्याइदिएकाे हो ।
प्रतिक्रिया दिनुहोस्