तराईमा बाक्लो हुस्सु, सावधानीका साथ सवारी सञ्चालन गर्न आग्रह
२२ मंसिर, विराटनगर। चिसो मौसम सुरु भएसँगै तराईमा हुस्सु लाग्न थालेको छ। यस वर्ष पहिलो पटक बुधबार बिहानदेखि बाक्लो हुस्सु लाग्न थालेको हो।
पहाडी क्षेत्रमा भने मौसम खुला छ। पूर्वी हावासँगै प्रदेश १ को राजधानी विराटनगर लगायत तराईका विभिन्न स्थानमा हुस्सु लागेको हो।
बिहान ६ बजेपछिदेखि मौसम धुम्मिएर हुस्सु लाग्दा आकाशमा घाम देखिएको छैन। घाम नलाग्दा विगतभन्दा केही चिसो महसुस भएको छ।
हुस्सुका कारण नजिकका दृष्य र कुनै वस्तुहरु देख्न गाह्रो पर्न थालेको छ। हुस्सुले दुर्घटनाको जोखिम बढेको भन्दै सावधानीका साथ सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले चालकलाई आग्रह गरेको छ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार हुस्सुका कारण सवारी साधन चलाउन समस्या हुने हुँदा दुर्घटनाको जोखिम पनि धेरै हुन्छ।
भिजिविलिटी कम भएर नजिकै रहेका कुनै पनि वस्तु नदेखिने र दुर्घटनाको जोखिम बढेकाले सावधानी अपनाउँदै अगाडिको ‘फक्स लाइट’बालेर मात्रै गाडी कुदाउन चालकलाई आग्रह गरिएको जानकारी खड्काले दिए।
हुस्सुका कारण तराईमा शीतलहरको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले आगामी दिनमा चिसो बढ्दै जाने बताए।
‘हुस्सु लाग्न सुरु भएकाले अब चिसो बढ्दै जान्छ,’ उनले भने, ‘हुस्सु लाग्ने क्रम केही दिन कायमै रहनसक्छ।’
देउजाले चिसो अत्याधिक हुँदा पारिवारिक आर्थिक अवस्था कमजोर भएकाहरु, बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरु बढी प्रभावित बन्ने बताए।
मौसम परिवर्तनसँगै तापक्रममा गिरावट आउने हुँदा ज्यान बचाउने उपायको खोजी उत्तम विकल्प हुने उनको भनाइ छ।
हुस्सु लाग्न थालेकाले चिसोबाट सर्वसाधारणलाई जोगाउने उपायको खोजी थालिने मोरङका प्रमुख जिल्ला काशीराज दाहालले बताए।
‘चिसोबाट प्रभावित बन्नेहरुको विवरण संकलनको तयारी गरिएको छ,’ उनले भने,‘सर्वसाधारणलाई सुरक्षित राख्दै जाडोको समयमा हुने मानवीय क्षति रोक्न आवश्यक कदम चालिने छ।’
प्रजिअ दाहालले प्रभावित सर्वसाधारणलाई चिसोबाट बच्न दाउरा, न्याना कपडा र आवश्यक राहत सामग्री उपलब्ध गराइने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्