तरण दल लमजुङ बन्यो रणभूमि, दुई मन्त्रीको द्वन्द्वले अधिवेशनमा खुकुरी प्रहार

४ घाइते, २ जना चितवन रिफर
लामो समयदेखि लमजुङमा शक्ति संघर्ष गरिरहेका गण्डकी प्रदेशका दुई मन्त्रीले एक अर्कालाई आरोप प्रत्यारोप गरेका छन् ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशन विवाद र खुकुरी प्रहारले हिंसात्मक घटना भएको थियो। यस घटनामा ४ जना घाइते भएका छन् र दुईजनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ।
- अधिवेशनमा भएको विवाद र खुकुरी प्रहारको मुख्य कारण भेषबहादुर समूह र अन्य समूहबीचको शक्ति संघर्ष र संगठन कब्जा गर्ने प्रयास रहेको थियो।
- लमजुङमा दुई मन्त्रीबीचको शक्ति संघर्ष र आरोप–प्रत्यारोपले घटनालाई जटिल बनाएको छ र यसले सम्पूर्ण क्षेत्रलाई स्तब्ध बनाएको छ।
३ जेठ, पोखरा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल लमजुङमा निम्तिएको विवादले जिल्ला अधिवेशन रणमैदानमा परिणत भएको छ । सदरमुकाम बेसीसहरमा भएको अधिवेशनको विवादले शनिबार एउटा समूहबाट खुकुरी नै प्रहार भएको छ ।
ज्यानै जान सक्नेगरी भएको खुकुरी प्रहारले ४ जना घाइते भएका छन्, जसमध्ये २ जनालाई उपचारका लागि चितवन रिफर नै गरिएको छ ।
पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका हुन् ।
गम्भीर घाइते बनेका खुसीजंग र सुदीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहार गर्नेहरूको पहिचान गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।
अधिवेशन चलिरहेको बेसीसहर नगरपालिका वडा नम्बर ८ को प्रगति टोल समूहको भवनको सभाहल बाहिर खुकुरी प्रहार भएको हो । अधिवेशनमा भेषबहादुर समूहले प्रतिनिधि छनोटमै रोक लगाइएको भन्दै विरोध गरेका थिए ।
अधिवेशनस्थलबाट विरोध गर्नेहरूलाई बाहिर निकालेपछि कार्यक्रम स्थलको गेटबाहिर खुकुरी प्रहार भएको घाइते प्रदीपजंग बस्नेतले जानकारी दिए ।
संस्पाथन समूहका गुरुङ पक्षधरले पूर्णकालीन सदस्य हटाउने, प्रतिनिधि छनोटमै रोक्ने काम गरेको विरोध गर्दा ज्यान मार्ने मनसायले खुकुरी प्रहार भएको उनले बताए । घाइतेहरू सबै संस्थापन इतर भेषबहादुर समूहका हुन् ।
तरुण दलको जिल्ला अध्यक्षको आकांक्षीसमेत रहेका खुसीजंग, नेता भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारीलगायतलाई पूर्णकालीन सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट रोकिएको भन्दै भेषबहादुर समूहले विरोध गरेका थिए । कांग्रेसका भातृ संगठनहरू नै कब्जा गर्ने रणनीति टकराज समूहको भएको भन्दै नाराबाजीसमेत भएको थियो ।
अधिवेशनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेलसमेत सहभागी थिए ।
अधिवेशनमा खुकुरी प्रहार नै भएपछि प्रहरीले जाहेरी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए ।
‘दुई समूहको विवादले तरुण दलको अधिवेशनमा भएको खुकुरी प्रहारको भिडियो नै देख्यौं । जाहेरी प्रक्रियामै छ,’ बोहोराले भने, ‘खुकुरी प्रहार भएको भिडियो नै सार्वजनिक भएकाले पीडित पक्षबाट जाहेरीकै आवश्यकता पनि पर्दैन । घटनाको अनुसन्धान भइरहेको छ ।’
दुई मन्त्रीको शक्तिको लडाईँ, एकअर्काप्रति आरोप–प्रत्यारोप
लामो समयदेखि लमजुङमा शक्ति संघर्ष गरिरहेका गण्डकी प्रदेशका दुई मन्त्रीले एक अर्कालाई आरोप प्रत्यारोप गरेका छन् ।
लमजुङ जिल्ला सभापतिसमेत रहेका डा. टकराजले खुकुरी प्रहारबाट गम्भीर घाइते बन्दासमेत पार्टीको आन्तरिक विवादले सामान्य घटना भएको बताए । ‘म लमजुङमै छु । म पार्टीको सभापतिसमेत भएका कारण त्यो अधिवेशनमा हुने नै भएँ । प्रतिनिधिबीच विवाद हुँदा सामान्य घटना घटेको हो,’ डा. गुरुङले भने ।
कांग्रेस लमजुङका निवर्तमान सभापतिसमेत रहेका डा. भेषबहादुरले सभापति तथा अर्थमन्त्री डा. टकराजको अकर्मण्यताले घटना घटेको बताए ।
‘यो सभापतिको अकर्मण्यताका कारण निम्तिएको घटना हो, यसमा उहाँ जिम्मेवार हुनुहुन्छ । ज्यानै मार्ने मनसायले खुकुरी प्रहार भएको विषय सामान्य होइन,’ भेषबहादुरले भने, ‘लमजुङमा जुन घटना घट्यो त्यो निन्दाजनकभन्दा पनि तल्लोस्तरको हो । दोषीमाथि कडा कारबाही होस् ।’
सभापति डा. गुरुङले जिल्लाका हरेक भातृसंगठन कब्जा गर्न खोजेको, प्रतिस्पर्धालाई प्रतिनिधि नै आउन नदिएको र घटना घटाउन उक्साएकोसमेत पौडेल समूहले लगाएका छन् । संघसंगठनमा कब्जा गर्ने र त्यसमाथि प्रश्न उठेपछि आक्रमणमा उत्रने काम भएको पौडेलको भनाइ छ ।
डा. टकराज यसअघि निवर्तमान सभापति सभापति भेषबहादुरसँग पराजित भएका थिए । पछिल्लो १४ औं महाधिवेशनमा डा. गुरुङ भेषबहादुर समूहका गमप्रसाद गुरुङलाई हराउँदै सभापति बनेका थिए ।
लमजुङमा शक्ति संघर्ष गरिरहेका दुबै जना प्रदेश सभामा विजयी हुँदै संसद छिरेका हुन् । सुरुमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डा. टकराजलाई मन्त्री बनाएका थिए । पछि गगन समूहको जोडबलमा राजीव गुरुङ (दीपक मनाङे)ले छोडेको वन मन्त्रालयमा मुख्यमन्त्री पाण्डेले भेषबहादुरलाई मन्त्री नियुक्त गरेका थिए ।
भेषबहादुर तरुण दल लमजुङ, उद्योग वाणिज्य संघ लमजुङका पूर्वअध्यक्षसमेत हुन् । दुई मन्त्रीको टकरावले रक्तपात नै बनेपछि सिंगो लमजुङ नै स्तब्ध बनेको छ । नेताहरूले दोषीउपर कडा कडा कारबाही गर्न माग गरेका छन् भने आक्रमण गर्ने समूहले भने घटनालाई सामान्य बनाउन खोजेको छ ।
मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय धनबहादुर तामा, राइनास नगरपालिका वडा नम्बर ६ का गणेश गुरुङ, मस्र्याङ्दी नगरपालिका वडा नम्बर ४२ का भुपेश गुरुङ लगायतले खुकुरी प्रहार गरेको पीडितहरूको आरोप छ ।
खुसरी प्रहारको घटनापछि विशेष कारणबस अधिवेशन स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्