डेंगुबाट बागमती प्रदेशमा दुईजनाको मृत्यु
२६ भदौ, मकवानपुर । डेंगुबाट बागमती प्रदेशमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका -१ चौकीटोल निवासी १३ वर्षीय बालक र ललितपुर ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन् ।
उनीहरु दुवैको आज काठमाडौँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मृतक दुवैजना डेंगुबाट संक्रमित भएको र अस्वस्थ भइ काठमाडौँस्थित अस्पतालमा उपचाररत थिए ।
बागमती प्रदेशमा हालसम्म डेंगुका संक्रमितको संख्या ८९१७ पुगेको र सबैभन्दा बढी संक्रमित ललितपुरमा रहेको उनले बताए । ललितपुरमा मात्रै ३ हजार ७९ जना संक्रमित रहेका छन् ।
त्यस्तै, काठमाडौंमा १ हजार ७९७, मकवानपुरमा १ हजार ४५, चितवनमा २०५ र धादिङ जिल्लामा १२१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।
यी ५ वटा जिल्लाहरुमा संक्रमितको संख्या निकै बढेको छ। डेंगु नियन्त्रणभन्दा बाहिर जाने संभावना भएकाले आफूहरुले केन्द्रीय सरकारसँग स्वास्थ्य सुरक्षाका सामग्री माग गरेको निर्देशक श्रेष्ठले बताए । बागमती प्रदेशकै रसुवा जिल्लामा भने हालसम्म संक्रमितको संख्या शून्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्