डाइनोसरको अण्डाभित्र कोरल्ने चरणमा रहेको भ्रूणको अवशेष फेला
८ पुस, चीन । चीनमा डाइनोसरको अण्डाभित्र कोरल्ने चरणमा रहेको एक भ्रूणको अवशेष फेला परेको छ । वैज्ञानिकहरूले उक्त भ्रूण कम्तीमा छ करोड ६० लाख वर्ष पुरानो भएको अनुमान गरेका छन् ।
चीनको गङझाओमा कुखुराको अण्डाझैं कोरल्ने अवस्थामा रहेको डाइनासोरको अण्डाभित्र भ्रूण फेला परेको बीबीसीले जनाएको हो ।
अचानक आएको पहिरोमा डाइनोसरको अण्डा पुरिएको हुँदा सुरक्षित रहन पुगेको अनुसन्धानकर्ताले बताएका छन् ।
‘बेबी यिङलियाङ’ नामाकरण गरिएको उक्त भ्रूण दाँत नहुने ओभिराप्टोरोसर नामक डाइनासोरको प्रजातिको रहेको अनुमान गरिएको छ ।
पखेटा हुने र घाँस खाने उक्त प्रजातिको डाइनोसर १० करोडदेखि छ करोड ६० वर्ष पहिला एसिया र उत्तरी अमेरिकामा अस्तित्वमा रहेको मानिन्छ ।
अनुसन्धानकर्ता डा. फियोन वाइसम माका अनुसार फेला परेको भ्रूणको अवशेषलाई अहिलेसम्मकै ‘उत्कृष्ट’ मानिएको छ ।
चराचुरुङ्गीले चल्ला कोरल्नुपूर्व अण्डाभित्र बेरिएर रहने अवस्था (tucking) मा झैं डाइनोसरको भ्रूण फेला परेपछि वैज्ञानिकहरू उत्साहित बनेका छन् ।
मा र उनका सहकर्मीले फेला पारेको भ्रूणमा डाइनोसरको टाउको शरीरमाथि अडिएको र चारवटै खुट्टा शरीरमा टाँसिएको देख्न सकिन्छ ।
पछिल्लो खोजले डाइनोसर र चराचुरुङ्गीबीचको सम्बन्ध थप बुझ्न सघाउने अपेक्षा समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्