ठूला सहरमा अनलाइन कक्षा सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

 कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको दोस्रो लहर रोक्नका लागि सरकारले सहरी क्षेत्रमा हुने भीडभाड रोक्ने र भारतबाट हुने आवतजावतमा कडाइ गर्नका लागि निर्णयको तयारी गरेको छ । यसका लागि ठूला सहरहरूमा विद्यालय ‘अनलाइन कक्षा’ सञ्चालन गर्ने र भारतबाट आउनेहरूलाई कडाइ गर्ने निर्णय गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव गरेको छ । 

शनिबार ४ बजे कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बस्ने बैठकका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को दोस्रो लहरको जोखिम कम गर्ने योजना प्रस्ताव तयार गरेको छ ।

frontline

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले विद्यालय सञ्चालन कसरी गर्ने भन्ने प्रस्ताव तयार भएको र सीसीएमसी बैठकमा प्रस्तुत गरिने बताए । मन्त्री त्रिपाठीले भने, ‘सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गरौं भन्ने प्रस्ताव तयार भएको छ । काठमाडौं, पोखरा, भरतपुर, वीरगञ्जलगायतका सहरमा त्यसो गरौं भन्ने प्रस्ताव हो । त्यसको निर्णय सीसीएमसीले गर्नेछ ।’

ग्रामीण क्षेत्रमा भने विद्यालय सञ्चालन गर्ने नै योजना रहेको बताइएको छ । अब पठनपाठन भने बन्द गर्न नहुने भन्ने सरकारको योजना रहेको बताइएको छ । काठमाडौं लगायतका ठूला सहरहरूमा विद्यार्थीको आवतजावत ठूलो हुने र विद्यालयमा पनि भीडभाड हुने भएकाले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सरकारको तयारी छ ।

मन्त्री त्रिपाठीले सरकार अब सकेसम्म लकडाउन नगर्ने भन्ने प्रयत्नमा रहने बताए । उनले यसअघि प्रतिनिधिसभाको बैठकमा पनि कोरोनाको दोस्रो लहर आएपनि पहिलेजस्तो लकडाउन गर्ने योजना नरहेको र सकभर त्यो अवस्था नआओस् भन्ने प्रयत्न सरकारको रहने बताएका थिए । उनले आर्थिक रूपमा क्षति हुने भएकाले सरकार लकडाउनमा जाने परिस्थितिमा जान नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here