ट्रम्प प्रशासनको नयाँ नीति- नेपाल र नेपालीलाई कहाँ कहाँ पर्छ असर अनि प्रभाव ?

अमेरिकाले आफ्नो गृह नीति, विदेश नीति, आर्थिक नीति, सामरिक नीति यावत क्षेत्रमा परिवर्तन गरेपछि अहिले विश्वका हरेक मुलुक आत्तिएका छन् । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र तथा सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाले आफ्ना नीति तथा रणनीतिहरूमा व्यापक फेरबदल गरिरहँदा विश्वलाई अनेक किसिमका अन्योल र अनिश्चयले अत्याइरहेको छ । खासगरी डोनाल्ड ट्रम्पले राष्ट्रपति पद समालेपछि अमेरिकाले आफ्नो परम्परागत नीतिमा ठूलो परिवर्तन गरिरहेको छ ।
विश्वको सबैभन्दा शक्तिशाली देशले आफ्ना नीति फेरबदल गर्दा विश्वव्यापी प्रभाव पर्नु स्वाभाविक हो । अमेरिकाले आफ्ना विश्व सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास गरिरहेको छ । यसको विश्वव्यापी प्रभाव देखिने निश्चित छ । अमेरिकाले आफ्ना घरेलु नीतिहरूमा पनि ठूलो फेरबदल गरिरहेको छ, यसको पनि विश्वव्यापी प्रभाव देखिँदैछ । मुख्यगरी चीनसँग चलिरहेको व्यापार युद्धलाई अमेरिकाले विस्तारित गरेको छ । चीनसहित धेरै देशसँग एकसाथ बहुमोर्चामा व्यापार युद्ध गर्न चीन अग्रसर भएको छ । अमेरिकाले विश्वका सबै देशलाई ‘रेसिप्रोकल’ भन्सार लगायो भने नेपाललाई पनि ठूलै प्रभाव पर्नेछ ।




अमेरिकाको बदलिँदो नीतिका धेरै आयाम छन् । यस आलेखमा मुख्यगरी अमेरिकाको आप्रवासन नीतिले नेपालमा पार्नसक्ने प्रभाव सम्बन्धमा अति संक्षिप्त रूपमा चर्चा गरिएको छ ।
अमेरिकासहित युरोप, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्यान्डलगायतका (खासगरी ग्लोबल नर्थ भनिने एसियालीबाहेकका) देशहरूले आप्रवासन सम्बन्धमा लामो समयदेखि उदार नीति अपनाउँदै आएका थिए । आप्रवासीलाई नागरिकता दिएर स्वागत गर्ने उनीहरूको नीति थियो । अरु देशलाई पनि यस्तै नीति अपनाउन उनीहरूले दबाब दिने गरेका थिए । नेपाललाई पनि उदार आप्रवासन र नागरिकता नीति अपनाउन उनीहरूले संविधान निर्माण भइरहँदा कडा दबाब दिएका थिए । अहिले पनि त्यस्तो दबाब कुनै न कुनै रूपमा दिइरहेका छन् ।
अमेरिकामा जति संख्यामा अवैध आप्रवासी छन् भनिन्छ, त्यो संख्यालाई हेर्दा फर्काइएकाहरू नगन्य छन् । नगन्य भए पनि यसको व्यापक प्रभाव हुने देखिन्छ । किनभने अमेरिकामा अवैध रूपमा पस्न चाहनेहरू हतोत्साहित भएका छन् । अमेरिकामा अवैध प्रवेश गर्नेको संख्या अब नगन्यमात्र छ ।
आप्रवासनविरुद्ध ग्लोबल नर्थ देशहरूमा गत दशकदेखि मुखर रूपमा विरोधको स्वर सुनिन थालेको थियो । विरोधको त्यस्तो स्वर क्रमशः चर्काे हुँदै गएको देखिन्थ्यो । हाल आएर ट्रम्प सरकारले आप्रवासनविरोधी नीतिलाई कार्यान्वयन गर्न थालेको छ । विभिन्न देशका अवैध आप्रवासीलाई विमानमा राखेर सम्बन्धित देशमा फर्काइएको छ । आप्रवासनसम्बन्धी सबैखाले नीतिहरूमा अमेरिकाले कडाइ गरिरहेको छ । अमेरिकामा जति संख्यामा अवैध आप्रवासी छन् भनिन्छ, त्यो संख्यालाई हेर्दा फर्काइएकाहरू नगन्य छन् । नगन्य भए पनि यसको व्यापक प्रभाव हुने देखिन्छ । किनभने अमेरिकामा अवैध रूपमा पस्न चाहनेहरू हतोत्साहित भएका छन् । अमेरिकामा अवैध प्रवेश गर्नेको संख्या अब नगन्यमात्र छ ।
अमेरिकाले अहिले आप्रवासन सम्बन्धमा जुन कडा नीति अपनाएको छ, त्यस्तै नीति युरोपेली मुलुकहरूले पनि ढिलोचाँडो अपनाउने देखिन्छ । युरोपमा उदार आप्रवासन नीतिका विरोधी पार्टीहरूको प्रभाव बढ्दै गएको छ । विगतमा आप्रवासनप्रति उदार भनिएका पार्टीहरू पनि अनुदार बन्दै गएका छन् । आगामी दिनमा ग्लोबल नर्थ देशहरूले आप्रवाशन नीतिमा कडाइ गर्दै लैजाने देखिन्छ । यी देशहरूले आप्रवासनको विरोधमा अपनाउने नीतिले नेपाललाई ठूलै प्रभाव पर्ने देखिन्छ । त्यस्ता देशहरूले अपनाउने आप्रवासनविरोधी नीतिले नेपाल छाडेर सदाका लागि सम्पन्न देशमा पलायन हुनेहरूको संख्या घट्नेछ । जो त्यस्ता देशमा गएका छन्, उनीहरू फर्कने दर पनि बढ्नेछ । जनसंख्याको एउटा हिस्सा स्थायी रूपमा पलायन हुने नेपालको प्रवृत्तिमा कमी आउनेछ ।
विश्वमा बदलिँदो आप्रवासन नीतिले विदेश पलायन हुने नेपालीको संख्यामात्र घट्ने छैन, त्यसले नेपालको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक सबै क्षेत्र प्रभावित हुने आकलन गर्न सकिन्छ ।
मुख्य असर विद्यार्थीलाई
नेपाली विद्यार्थीहरूको विदेश पलायन भयावह संख्यामा भइरहेको छ । अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा, न्यूजिल्यान्डलगायतका देशहरूमा ठूलो संख्यामा विद्यार्थीहरू गइरहेका थिए । उनीहरू अधिकांशको उद्देश्य पढ्नेमात्र हुँदैन, उतै जीवन बिताउने पनि हुन्छ । उतैको स्थायी बासिन्दा बनेर नेपालबाट परिवार पनि लैजाने उद्देश्य उनीहरूको हुने गरेको छ । यो कुरा ओपन सेक्रेट हो ।
अमेरिकाले अहिले आप्रवासन सम्बन्धमा जुन कडा नीति अपनाएको छ, त्यस्तै नीति युरोपेली मुलुकहरूले पनि ढिलोचाँडो अपनाउने देखिन्छ । युरोपमा उदार आप्रवासन नीतिका विरोधी पार्टीहरूको प्रभाव बढ्दै गएको छ ।
अब विद्यार्थीका रूपमा ती देशहरूमा जान त सकिएला, तर उतैको स्थायी बासिन्दा बन्न सकिने भर भएन । फर्किएर आउनुपर्ने भयो । अर्काे कुरा, विद्यार्थीका रूपमा पनि जानुअघि धेरै पटक सोच्नुपर्ने भयो । अहिलेसम्म के हुने गरेको थियो भने नेपालमा राम्रो आम्दानीको स्रोत छ भन्ने कागज देखाएर विद्यार्थीहरू जाने गरेका थिए । केही समयका लागि रकमको जोगाड गर्ने, कागजपत्र मिलाउने र जाने गरिन्थ्यो । ती देशमा गएर लुकिछिपी काम गरेर निर्वाह हुन्थ्यो, विदेश जाँदा लागेको ऋण पनि तिर्न सकिन्थ्यो ।
अब विशेषगरी अमेरिकाले विद्यार्थीलाई २० घन्टाभन्दा धेरै काम गर्न नदिने नीति कडाइसाथ लागू गरेको छ । पहिलो- २० घन्टा काम पाउनै मुस्किल छ । दोस्रो- २० घन्टा कामको कमाइले निर्वाह गर्न गाह्रो छ । धेरै विद्यार्थीले निर्वाहका लागि नेपालबाटै खर्च मगाउनुपर्ने अवस्था छ । यस्तो भएपछि ती देश जाने विद्यार्थीको संख्या घट्नसक्छ । अधिकांश नेपाली विद्यार्थीको विदेश आकर्षणको मुख्य कारण शिक्षा नभएर उतै स्थायी वासिन्दा बन्ने हो ।
सामाजिक प्रभाव
युवा विद्यार्थीको ठूलो संख्याले आशा र भविष्य विदेशमै देख्ने गरेका थिए । नेपालमै केही गर्ने योजना बनाउनुको साटो विदेश पलायन हुने सपनामा युवा विद्यार्थी झुमेका थिए । विदेशको सपनामा अब क्रमशः तगारो लाग्दै जाने देखिन्छ । विश्व अहिले एक ढंगको आर्थिक शिथिलताले ग्रस्त छ । यो शिथिलता बढ्दै गयो भने नेपाली विद्यार्थीका गन्तव्य मुलुकको आर्थिक अवस्था अरु खस्कनेछ । यो कारण पनि नेपाली विद्यार्थी झन् समस्यामा पर्नेछन् ।
आर्थिक शिथिलता मन्दीकै चरणमा प्रवेश गरेको अवस्थामा विद्यार्थीको गन्तव्य मुलुकहरूमात्र नभएर नेपाली युवाको श्रम गन्तव्य मुलुकहरू पनि प्रभावित हुनेछन् । रोजगार गुम्नेछ । थप नेपाली युवा श्रम गन्तव्य देशहरूमा जान पाउने छैनन् । यसबाट नेपाली युवा विद्यार्थीको विदेश जाने क्रममा गिरावट आउनेछ । यसको अर्थ हो, नेपालमा युवाको संख्या बढ्नेछ ।
नेपालले युवा व्यवस्थापनको खासै चिन्ता गरिरहन परेको थिएन । युवाहरू विदेश जाने भएकाले स्वदेशमा रोजगारी सिर्जना खासै ठूलो बहसको विषय बन्ने गरेको छैन । युवाहरू नेपालमै अड्नुपर्ने परिस्थिति भएपछि रोजगारी खोई ? यसले सामाजिक असन्तोष अझ बढाउन सक्छ । युवाहरू नेपालमै अड्नुपर्ने परिस्थितिपछि नकारात्मक अवस्थामात्र आउँछ भन्न मिल्दैन । युवा विद्यार्थी पुस्ताले स्वदेशमै अवसर खोज्न सक्छन्, स्वदेशमै अवसर सिर्जना गर्न पनि सक्छन् । त्यसो भएमा विदेश पलायनको सम्भावित अड्चनले नेपाललाई सकारात्मक प्रभाव पार्नसक्छ । विदेश जाने, विदेशमै जीवन बिताउने सपना अब सहज रहेन ।
युवाहरू नेपालमै अड्नुपर्ने परिस्थितिपछि नकारात्मक अवस्थामात्र आउँछ भन्न मिल्दैन । युवा विद्यार्थी पुस्ताले स्वदेशमै अवसर खोज्न सक्छन्, स्वदेशमै अवसर सिर्जना गर्न पनि सक्छन् । त्यसो भएमा विदेश पलायनको सम्भावित अड्चनले नेपाललाई सकारात्मक प्रभाव पार्नसक्छ ।
राजनीतिक प्रभाव
एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि देशका धेरै समस्या समाधान हुने अपेक्षा थियो, तर त्यसो भइरहेको छैन । समाजमा असन्तुष्टि चुलिँदो छ । असन्तुष्टिको दुई आयाम छ । एउटा- असन्तुष्टिको सुनियोजित मार्केटिङ गरिएको छ । समाजमा निराशा फैलाइँदैछ । देशको अवस्था यति निराश हुनुपर्ने खालको हुँदै होइन । दाेस्राे- समाजमा वास्तवमै निराशा पनि छ, तर प्रचार गरिए जति, निराशाको उत्तेजना सिर्जना गर्न खोजिए जति चाहिँ होइन । देश त्यति बिग्रिएको छैन, जति दुर्गा प्रसाईंहरूको जमातले प्रचार गरिरहेको छ ।
कुरा जसो भए पनि अहिले समाजमा निराशा र असन्तुष्टि चरममा भएको मान्न सकिन्छ । कारण हो, कुशासन र भ्रष्टाचार । राज्य संयन्त्रमा बिचौलियाहरूको प्रभावमात्र होइन, प्रभुत्व नै छ । यी बिचौलिया भने ती बिचौलिया होइनन्, जो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनिरहेका छन् । प्रचण्ड आफैं बिचौलिया गिरोहका एक नाइके हुन् । हरेक राजनीतिक दलका मुखिया बिचौलिया गिरोहका नाइके जस्तो बनेका छन् । त्यसैले समाजमा रहेको असन्तुष्टि र निराशामा आगोमा घिउ थप्ने काम गरिरहेको छ ।
समाजमा व्याप्त असन्तुष्टि र निराशाले मुख्य गरी युवा विद्यार्थीलाई उद्वेलित गर्छ । युवा विद्यार्थीमा व्याप्त निराशा र त्यसले उत्पन्न गर्ने विद्रोह असाधारण र अकल्पनीय हुन्छ । विभिन्न देशमा पछिल्लो समय यसको उदाहरण पनि देखिएको छ । अहिलेसम्म के भएको थियो भने युवा विद्यार्थीको असन्तुष्टि र निराशाको निकास विदेश पलायनले दिने गरेको थियो । अब त्यो निकास खुम्चिएको छ । युवा विद्यार्थी अब पहिलेको संख्यामा विदेश नजान सक्छन् । यसले नेपालको समग्र राजनीति प्रभावित हुनसक्छ ।
निष्कर्षमा अमेरिकाले आफ्नो नीति तथा रणनीति परिवर्तन गर्दा विश्वव्यापी प्रभाव उत्पन्न भएको छ । अमेरिकी नीतिमा फेरबदलसँगै विभिन्न शक्ति राष्ट्रहरू पनि आफ्नो नीति परिवर्तन गर्न बाध्य भएका छन् । विगतमा तीब्र गतिमा भूमण्डलीकरण भएको थियो । अहिले भूमण्डलीकरणको रफ्तारमा ब्रेक लागेको छ । हरेक देश आत्मकेन्द्रित हुनुपर्ने अवस्था आएको छ । भूमण्डलीकरणको युगमा आफ्नो चिन्ता गर्दा अरुको पनि चिन्ता गरिन्थ्यो, अब हरेक देशले आफ्नो मात्र चिन्ता गर्नुपर्ने बेला आएको छ । यस्तो बेला नेपालले आफ्ना नीतिहरूमा पुनर्विचार र परिमार्जन गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्