ट्रम्पको धम्कीपछि बीआरआई सम्झौता नवीकरण नगर्ने पनामाको घोषणा
पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन् ।
पनामाले सन् २०१७ मा चीनसँग बीआरआई सम्झौता गरेको थियो । अमेरिकामा राष्ट्रपति चुनाव जितेसँगै डोनाल्ड ट्रम्पले पनामाविरुद्ध अभिव्यक्ति दिंदै आएका थिए ।
राष्ट्रपति मुलिनोले अमेरिकासँग नयाँ लगानी परियोजनाहरूमा काम गर्ने इच्छा व्यक्त गरेका हुन् । नयाँ लगानी परियोजनामा पूर्वाधारसम्बन्धी योजना समेत समावेश छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार पनामा भ्रमणमा पुगेका छन् । ट्रम्प राष्ट्रपति बनेपछि कुनै उच्च अमेरिकी अधिकारीको यो पहिलो पनामा भ्रमण हो ।
मार्कोले पनामा सरकारलाई नहरमाथि चीनको प्रभाव र नियन्त्रण तत्काल अन्त्य गर्न माग गरेका छन् ।
रुबियोले चेतावनी दिँदै भने, ‘यदि पनामाले चीनको प्रभाव हटाएन भने अमेरिका र पनामाबीचको सन्धिअनुसार आफ्ना अधिकारहरूको रक्षा गर्न व्यापक कदम चाल्नेछ ।’
यो चेतावनी आइतबार पनामा सिटीमा अमेरिकी विदेशमन्त्री रुबियो र पनामा राष्ट्रपति राउल मुलिनोबीचको बैठकपछि आएको हो ।
पनामाको प्रतिक्रिया
रुबियोको भ्रमणले नयाँ सम्भावना खोलेको बताउँदै मुलिनोले भने, ‘पनामा नहरको सार्वभौमिकतासम्बन्धी कुनै बहस गर्ने छैनौं ।’
उनले चीनको प्रभावबारे अमेरिकाको चासोलाई लिएर रुबियोसँग छलफल भएको जानकारी पनि दिए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति मुलिनोले पनामा नहरलाई अमेरिका कब्जा गर्ने खतरा नभएको स्पष्ट पारेका थिए ।
उनले भने, ‘ट्रम्प प्रशासनको चीनसम्बन्धी चासोलाई सम्बोधन गर्न मैले बैठकको प्रस्ताव राखेको थिएँ ।’
अमेरिकी चेतावनी
मुलिनोको घोषणापछि अमेरिकी विदेश विभागले दुई देशबीचको छलफलका विवरण सार्वजनिक गरेको छ । रिपोर्टअनुसार, पनामा नहरमा चीनको प्रभाव बढेमा अमेरिका आफ्ना अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने उल्लेख छ ।
सन् १९७७ मा भएको एक सन्धिअनुसार यदि कुनै विदेशी शक्तिले पनामा नहरको सञ्चालनमा हस्तक्षेप गरेमा अमेरिका सैन्य कारबाही गर्न सक्ने उल्लेख छ ।
ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण गर्नुअघि नै पनामा नहर पुनः अमेरिकी नियन्त्रणमा लिने धम्की दिएका थिए।
पनामा नहर १९९९ सम्म अमेरिकी नियन्त्रणमा थियो, त्यसपछि पनामालाई हस्तान्तरण गरिएको थियो।
‘पनामाले अमेरिकासँग अत्यधिक शुल्क लिएको छ र चीनको प्रभाव बढाउँदैछ,’ ट्रम्पको आरोप थियो ।
यदि चीनले पनामामा थप नियन्त्रण जमाउने प्रयास गर्यो भने अमेरिका कडा प्रतिक्रिया जनाउन तयार हुने ट्रम्पको धम्की थियो ।
ट्रम्पले आफ्नो सोशल मिडिया अकाउन्टमा पनामा नहरको बीचमा अमेरिकी झन्डा फहराइरहेको एक एआई-सिर्जित तस्वीर पोस्ट गरेका थिए । ‘वेलकम टु द यूनाइटेड स्टेट्स क्यानल’ तस्वीरको क्याप्सनमा उनले लेखेका थिए ।
बीआरआई चीनको महत्वाकांक्षी योजना हो जसलाई नयाँ सिल्क रूट पनि भनिन्छ ।
यस योजनाअन्तर्गत एशिया, युरोप, अफ्रिका गरी ७० भन्दा बढी देशलाई रेल, सडक र समुद्री मार्गमार्फत जोड्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया दिनुहोस्