टी-२० ग्लोबल क्वालिफायर खेल्ने १४ सदस्यीय नेपाली टिमको घोषणा, गुल्सन झा समेत अटाए
४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघले ओमानमा हुने आईसीसी टी-२० ग्लोबल क्वालिफायर खेल्ने १४ सदस्यीय नेपाली टिम घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक पुबुदु दशानायके र छनोट समितिको परामर्शमा घोषणा गरेको टोलीमा करण केसीको स्थानमा ओमान जाने तयारीमा रहेका फास्ट बलर गुल्सन झा समेत अटाएका छन् ।
गत सेप्टेम्बरमा ओमानमै भएको विश्वकप लिग २ सिरिजमा अमेरिका विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका गुल्सन टी-२० मा भने पहिलो पटक परेका हुन् ।
१४ सदस्यीय टिममा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमल सिंह ऐरी, विवेक यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा रहेका छन् ।
टिममा वैकल्पिक खेलाडीको रुपमा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरीलाई राखिएको छ ।
क्वालिफायर अघिको चारदेशीय सिरिजका लागि नेपालबाट १७ सदस्यीय टोली गएको थियो । जसबाट नेपाल क्रिकेट संघ क्यानले मंगलबार अन्तिम टोली छनोट गरेको हो ।
ओमान पुगेपनि चोटका कारण चारदेशीय सिरिज नखेलेका करणको स्थानमा क्यानले गुल्सनलाई पठाउने तयारी गरेको छ । करण भने केहीदिनमै नेपाल फर्कनेछन् ।
क्वालिफायरको समूह ए मा रहेको नेपालले उद्घाटन खेलमै घरेलु टोली ओमानसंग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्