टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु
“टिपरले ठक्कर दिएपछि सविन घाइते भए । तर, टिपर चालकले अस्पताल लैजानु र प्रहरीलाई खबर गर्नुको साटो घिसारेर वालुवाको थुप्रोमा लगेर भागेछन्
४ पुस, काठमाडौं । गत मंसिर २५ गते राति साँझ ८ बजेको समय । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चिसापानी सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भयो ।
नुवाकोटतर्फ जाँदै गरेको प्रदेश ३ बा ६१८९ नम्बरको मोटरसाइकलमा सवार २३ वर्षीय सविन फुँयालको मृत्यु भएको हो ।
प्रहरीले यो घटनालाई दुर्घटना नभई हत्या गरेको भन्दै अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धान सुक्ष्म रुपमा अगाडि बढेको र तीनजना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
सडक किनारमा रहेको वालुवामा घाइते अवस्थामा भेटिएका सविनलाई उनका साथीहरुले अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
सुरुमा घटना कसरी भयो भन्ने नै खुलेन । टिपरको पहिचान भएन । प्रहरी अनुसन्धानमा बा४ख ९५४३ नम्बरको टिपरले ठक्कर दिएको खुल्यो ।
त्यसपछि प्रहरीले टिपर चालक शिव बलामीलाई पक्राउ गर्यो । सुरुमा उनले अभियोग स्वीकार गरे । तर, प्रहरीलाई शंका लाग्यो ।
सोधपुछकै क्रममा शिवले आफूले टिपर नचलाएको बरु अभियोग स्वीकार गर्न गाडी मालिक विमल वलामीले तीन लाख ५० हजार दिएको बताए ।
उनको बयानपछि प्रहरी अनुसन्धान टोली गम्भीर बन्यो । दुर्घटनाको कारण र दुर्घटनापछिको अवस्थाको अध्ययनमा जुट्यो ।
गाडी मालिक पनि पक्राउ परे । २६ गते बालाजु क्षेत्रमा स्थानीयले दुर्घटना नभई हत्या गरिएको भन्दै प्रहरीविरुद्ध प्रर्दशन गरे ।
प्रर्दशनकारीले प्रहरीको मोटरसाइकल जलाए । सुरुवाती समयमा अनुसन्धानमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार गाडी मालिक पक्राउ परेपछि प्रहरी घटनाको दिन चालक शिव नभएर शंकर बलामी रहेको खुलेको छ ।
“टिपरले ठक्कर दिएपछि सविन घाइते भए । तर, टिपर चालकले अस्पताल लैजानु र प्रहरीलाई खबर गर्नुको साटो घिसारेर वालुवाको थुप्रोमा लगेर भागेछन् ।
टिपर पनि लुकाएर राखेको अवस्थामा भेटियो,” ती अधिकारीले भने, “यो त दुर्घटना नभई हत्या नै हो । दुर्घटनापछि सविनलाई समयमै अस्पताल पुर्याउन सकिएको भए उनको ज्यान जोगिन पनि सक्थ्यो ।” शंकरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ तारकेश्वर नगरपालिका–६ मा सविन आफ्ना चार साथीहरूसँग थिए । उनीहरू सबैले एउटै खाजा पसलमा बसेर मादकपदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खानपानपछि तीन साथी एकै मोटरसाइकलमा चढेर निस्किएका थिए । सविन आफैँले मोटरसाइकल चलाएका थिए । तीनजना साथी अगाडि रहेको र सविन एक्लै हुँदा नआएपछि साथीहरूको समूह उनलाई खोज्न फर्किएको थियो ।
फर्कंदा तारकेश्वर–६ स्थित सडक किनारमा सविनलाई घाइते अवस्थामा देखेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेका थिए । सोही क्रममा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्