टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको फोन, विपिन जोशी रिहाइमा सघाउन आग्रह

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डाेगनबीच टेलिफोन संवाद भएको छ ।
रेकेपसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरे ।




बुधबार भएको टेलिफोन संवादमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिएर पहल गर्ने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत २७ फागुनमा पनि प्रधानमन्त्री ओलीले जोशीको रिहाइमा सहयोग गर्न आग्रह गर्दै इजिप्टका राष्ट्रपतिसँग पनि टेलिफोन संवाद गरेका थिए ।
आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराए ।
टेलिफोन संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे पनि कुराकानी भएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्