टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा

फाइल तस्बिर

६ साउन, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

frontline

अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने क्षमताको ट्याङ्की निर्माण गरिएको छ । इन्जिनियर सुरज शाहका अनुसार ट्याङ्की ३० हजार लिटरको भए पनि अहिले २० हजार लिटरमात्र ट्याङकीमा राखिएको छ ।

गएको वर्ष साउनदेखि उक्त इन्धन डिपो निर्माणको काम सुरु भएको हो ।

भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणको पुगेको भए पनि प्राविधिक जाँचको काम बाँकी रहेकाले प्राविधिक जाँच भएपछि मात्रै सञ्चालनमा आउने उनको भनाइ छ ।

न्यू ड्राइभन एमसी फाल्गुनान्दले करिब रु एक करोड ५० लाख लागतमा निर्माणको जिम्मा लिएको थियो ।

इन्धन डिपो नहुँदा काठमाडौँबाटै इन्धन बोकेर ल्याउनुपर्ने अवस्था थियो ।

यात्रु बस्ने सिटमा राखेर इन्धन ल्याउनुपर्ने अवस्था भएकाले पनि भाडा महँगो पर्न जाने गरेको थियो, अब भने केही सस्तो हुने अपेक्षा गरिएको छ ।

टरिगाउँ विमानस्थलमा अहिले सातामा पाँच दिन जहाज सञ्चालन हुने गरेको छ । शुक्रबार र शनिबारबाहेक अन्य दिन नियमित उडान हुने गरेको छ ।

विसं २०११ मा टरिगाउँ विमानस्थलमा पहिलोपटक विमान अवतरण भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालको दोस्रो पुरानो विमानस्थल विभिन्न समयमा बन्द हुँदै सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here