झापामा मिटरव्याजीविरुद्ध २४ जनाले दिए उजुरी

फाइल तस्बिर

७ भदौ, झापा । झापामा पनि मिटरव्याजीबाट जिल्लावासी पीडित बनेका छन्। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले उजुरीका लागि सूचना आव्हान गरेसँगै मिटरव्याजीबाट पीडित बनेका २४ जनाले उजुरी दिएका छन।  

जिल्ला प्रशासन कार्यालय भद्रपुरमा १६ र इलाका प्रशासन कार्यालय दमकमा ८ जना गरी २४ जनाले उजुरी दर्ता गराएको प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिए। 

frontline

प्रहरी कार्यालयमा भने कुनै पनि उजुरी नपरेको उनले बताए। ‘मिटरव्याजीविरुद्ध उजुरी दर्ता गराउनेहरू ५ देखि २५ लाखसम्म पीडित देखिएको छ,’ उनले भने, ‘अहिले दर्ता हुने काम भएको छ, अब आवश्यक कानुनी प्रक्रिया अघि बढाउँछौँ।’ 

कार्यालयले मिटरव्याजीको धन्दा गर्नेहरूबाट पीडितलाई भदौ ६ गतेसम्म उजुरीका लागि सूचना जारी गरेको थियो। 

पीडितलाई मिटरव्याजीले गरेको अपराध र शोषणबारे खुलाएर उजुरी दिन भनेको थियो। यता सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रुद्र प्रसाद न्यौपानेले जिल्लामा अनौपचारिक रूपमा भएको कारोबारमा धेरै समस्या रहेको जानकारी दिए। 

‘विश्वासले गरेका कारोबारपछि विश्वास टुट्दा समस्या बढेर गएको देखिन्छ’, उनले भने। उजुरी दिएकामध्ये कतिपयले प्रमाण पेस नगरेको उनको भनाइ छ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here