झन् बल्झियो कांग्रेस विवाद-केन्द्रीय सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहका भनिएका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि आन्तरिक विवाद झन् गहिरिएको छ ।

सभापति थापाले वैशाख २८ गते १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । मनोनीतमध्ये १२ जना निवर्तमान सभापति शेरबहादुर देउवा समूहका र ७ जना डा. शेखर कोइराला समूहका नेता हुन् ।

frontline

यी हुन् कांग्रेस केन्द्रीय समितिमा मनोनीत देउवा समूहका १२ र शेखर समूहका ७ जना

देउवा समूह र शेखर समूहले आफूहरूसँग सल्लाह नगरी आफूखुसी मनोनीत गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यतिमात्र होइन, उनीहरूले विज्ञप्ति जारी गरेरै विशेष महाधिवेशनपछि विवादमा रहेको पार्टी मिल्ने अवस्थामा रहेको बेलामा केन्द्रीय सदस्य मनोनयनले त्यो प्रक्रियामा ठेस पुगेकोसमेत बताएका छन् ।

डा. शेखर कोइरालाले १९ केन्द्रीय सदस्य मनोनयनपछि प्रेस नोट जारी गरेर बिनापरामर्श केन्द्रीय समिति विस्तारले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।

बिना परामर्श केन्द्रीय समिति बिस्तारले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ : कोइराला

अहिले देउवा समूहको नेतृत्व गरिरहेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि पार्टी एकताको उद्देश्यमा ठेस पुगेको बताएका छन् । केन्द्रीय समिति विस्तारमा आफूलाई कुनै जानकारी नै नदिइएको खड्काले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको उद्देश्यमा ठेस पुग्यो : पूर्णबहादुर खड्का

दुई नेताले केन्द्रीय समिति विस्तार प्रक्रियामा असन्तुष्टि व्यक्त गरेपछि उपसभापति विश्वप्रकाश शर्माले त्यसको जबाफ फर्काए । उनले अब पार्टीमा ६०÷४० को भाग नखोज्न चेतावनी दिए ।

वैशाख ३१ गते पोखरामा आयोजित कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेलामा उपसभापति शर्माले भने, ‘गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अगाडि बढ्नुपर्छ । विशेष महाधिवेशनको विपक्षमा रहेकाहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिएर समेट्ने प्रक्रिया सुरु भइसकेको छ । विशेष महाधिवेशनको विरुद्धमा रहेका साथीहरूको पनि यो पार्टी उत्तिकै हो । पछिल्ला निर्णयहरू हेर्नुभयो भने प्रस्ट हुन्छ कि हामीले कसैलाई पनि पाखा लगाएका छैनौँ । विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरूलाई नै उच्च र सम्मानपूर्ण जिम्मेवारी दिइएको छ ।’

६०/४० को भागबन्डा छोडेर अब १०० प्रतिशतको कांग्रेस बनौँ : उपसभापति शर्मा

उपसभापति शर्माको अभिव्यक्तिको जबाफ फेरि निवर्तमान कार्यवाहक सभापति खड्काले फर्काएका छन् । कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले जेठ २ गते आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ कार्यक्रममा उनले पार्टी विभाजनको डिलमा पुगेको बताए ।

केही दिनअघि सभापति थापा र उपसभापति शर्मासँगको भेटको प्रसङ्ग उल्लेख गर्दै खड्काले आफूले पार्टी विभाजनको बाटोमा जान नहुने सुझाव दिएको बताए ।

‘पार्टी विभाजनको डिलमा छ, तर पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा दुई जनाको हातमा छ । गगन थापा सिङ्गो कांग्रेसको नेता बन्न सक्नुपर्छ । पटक–पटकको भेटमा पार्टीभित्र सबैलाई समेटेर अघि बढ्न भनेको छु । सानेपाको मात्रै सभापति देखिएर भएन । क्रियाशील सदस्यहरूले पनि आफ्नो भएको महसुस गर्नुप¥यो,’ खड्काले भने ।

विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बनेको बताउँदै खड्काले सोही कारण प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस खुम्चिएर ३८ सिटमा झरेको दाबी पनि गरे । अझ पनि एकतर्फी रूपमा अगाडि बढेमा समस्या झन् गहिरिने भन्दै समन्वय र सहमतिका आधारमा अगाडि बढ्न उनले आग्रह गरे ।

केन्द्रीय सदस्यमा आफ्नो पक्षका नेताहरूलाई सल्लाहबिना मनोनीत गरेर विचार समूह टुक्र्याउने प्रयास गरेको भन्दै देउवा र कोइराला समूहका नेताहरू असन्तुष्ट छन् ।

तर, उपसभापति शर्मा भने पार्टीले पछिल्लो पटक गरेका ३ निर्णयमा विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई विभिन्न पदमा मनोनीत गरेर एकताको सन्देश दिने प्रयास गरिएको बताउँछन् ।

‘पछिल्लो ३ निर्णय हेर्नुस्, विशेष महाधिवेशनको विपक्षमा रहेका साथीहरूलाई नै सम्मानपूर्वक जिम्मेवारी दिइएको छ,’ उपसभापति शर्माले भने, ‘महिला संघ सभापति– मीना खरेल, संसदीय दलको नेता– भीष्मराज आङ्देम्बे र केन्द्रीय समितिमा १९ जनाको मनोनयन । उहाँहरू कोही पनि विशेष महाधिवेशनमा सहभागी हुनुन्न थियो । अब सबैलाई समेट्ने क्रम सुरु भएको छ ।’

कोषाध्यक्षमा पनि १४औँ महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले मनोनीत गरेका उमेश श्रेष्ठलाई मनोनीत गरिएको छ ।

तर, देउवा समूह भने सहमतिबिना गरिएका निर्णयका आधारमा पार्टी एकता बलियो बन्न नसक्ने बताउँछ । अहिले देउवा समूहको नेतृत्व गरिरहेका नेता खड्काले आफ्नो समूहका नेताहरूको केन्द्रीय सदस्यमा नाम सिफारिस गर्नुभएको हो भन्ने प्रश्नमा भन्ने गरेका छन्, ‘मसँग सहमति पनि होइन । मनोनीत हुने नेताहरूलाई मलाई केन्द्रीय सदस्य बन्ने अफर आएको छ पनि भनेका छैनन् ।’

खड्काले व्यक्तिगत सम्बन्धका आधारमा गएका होलान् भन्ने प्रतिक्रिया आफूलाई सोध्ने नेताहरूलाई दिने गरेका नेताहरू बताउँछन् । यसले पार्टीभित्र मिल्ने सङ्केत देखिएको वातावरणलाई थप बिथोलेको खड्काले औपचारिक रूपमै बताइसकेका छन् ।

यता सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर जे पनि गर्न तयार रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तक्र्रियामा सभापति थापाले १५औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष गराउन सकिन्छ, त्यो गर्न तयार रहेको बताए ।

सभापति थापाले भने, ‘महाधिवेशनका विषयमा बन्ने समितिमा फेयर बनाउनका लागि क–कसलाई कहाँ राख्ने भन्नेमा तयार छु । विधानको परिधिमा रहेर गर्छु । यो मेरो सार्वजनिक प्रतिबद्धता हो ।’

तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको सहमतिबिच पुस अन्तिम साता तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि कांग्रेसमा विवाद सुरु भएको थियो ।

गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनले पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति बनाएपछि त्यसविरुद्ध देउवा र शेखर समूह निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेका थिए । तर, आयोग र सर्वोच्चले विशेष महाधिवेशनलाई आधिकारिकता दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here