जेफ बेजोस नेदरल्याण्डको भ्रमणमा जाँदै, ऐतिहासिक कोनिंग्सहेवन पुल भत्काउने निर्णय, तीव्र विवाद
२४ माघ, काठमाडौ । १ खर्ब ७५ अर्ब डलर सम्पत्तिका मालिक तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोस नेदरल्याण्डको भ्रमणमा जाँदैछन् ।
नेदरल्याण्डको भ्रमणका क्रममा बेजोस त्यहाँको मुख्य सहर रोटरडम पनि जानेछन् र सुपरयाच (विशेष पानी जहाज) बाट सहर घुम्नेछन् । तर उनको त्यहीँ सुपरयाच यात्रालाई लिएर अहिले तीव्र विवाद पैदा भएको छ ।
वास्तवमा रोटरडम नगर परिषदले सहरको ऐतिहासिक कोनिंग्सहेवन पुल भत्काउने निर्णय गरेको छ । नदीमा जेफ बेजोसको पानी जहाज यात्रालाई सहज बनाउन र जहाज छिराउनका लागि उक्त पुल भत्काउने निर्णय गरिएको हो ।
नगर परिषदका प्रवक्ताले पुल भत्काउने कुराको पुष्टि गर्दै त्यसको पूरै खर्च बेजोसले व्यहोर्ने बताए ।
बेजोसको यात्राका लागि तयार भैरहेको सुपरयाच निकै ठूलो आकारको छ । जसका कारण त्यो पानी जहाज उक्त ऐतिहासिक पुल मुनिबाट छिर्न सक्दैन ।
उक्त आलिशान सुपर याचको लम्बाई १२७ मिटर र उचाइँ ४० मिटर छ । नेदरल्याण्डको ओशनको कम्पनीले उक्त पानी जहाज बनाइरहेको छ ।
स्थानीय भाषामा डी हेफे नामले चर्चित उक्त ऐतिहासिक पुलको बीचको भागलाई अस्थायी रुपमा भत्काइनेछ ता कि ४० मिटर अग्लो सुपरयाच अगाडि जान सकोस् ।
स्टिलबाट बनेको उक्त पुल १ सय ४५ वर्षअघि अर्थात् सन् १८७७ मा निर्माण भएको हो । उक्त पुल रोटरडम सहरको पहिचान बनिसकेको छ र देशको धरोहरमा समेत सामेल छ ।
सन् २०१४ देखि २०१७ सम्म यातायात रोकेरै यो पुलको व्यापक रुपमा मर्मत गरिएको थियो । त्यसबेला अधिकारीहरुले यो पुल नभत्काइने र मर्मत गरिने बताएका थिए ।
अहिले जेफ बेजोसको पानी जहाज छिराउन सो ऐतिहासिक पुल भत्काउने नगर परिषदको निर्णयको मानिसहरुले व्यापक विरोध गरिरहेका छन् ।
नगरपरिषदले पनि सुपरयाचको निर्माण र बेजोसको यात्राले सहरको निर्माण क्षेत्रमा धेरै रोजगारी पैदा हुने दाबी गरेको छ । जसका कारण उक्त योजनालाई स्वीकृति दिइएको परिषदको भनाइ छ ।
बेजोसको यात्रा पश्चात् उक्त पुललाई पुनः पहिलेकै अवस्थामा पुनर्निर्माण गरिने नगर परिषदले जनाएको छ ।
नगरपरिषदका अधिकारी मार्सेल वालराभेन्सका अनुसार उक्त सुपरयाच अन्त कतै बनाउनु सम्भव थिएन । आर्थिक दृष्टिकोणबाट पनि यो परियोजना निकै महत्वपूर्ण छ ।
पानी जहाज निर्माण कार्य रोटरडमको प्रतिष्ठा भएको भन्दै उनले रोटरडमलाई युरोपको जलयात्राको राजधानी (मेरिटाइम क्यापिटल) भनिने कुराको पनि स्मरण गराएका छन् ।
रोटरडम बन्दरगाह युरोपको सबैभन्दा ठूलो बन्दरगाह हो र संसारके ठूलो मध्येको एक हो । पानी जहाज उद्योग पनि सहरमा निकै फस्टाएको छ ।
उक्त सुपरयाच अमेजन कम्पनीका लागि निर्माण भैरहेको छ जसको नाम Y721 हो । यो संसारको सबैभन्दा ठूलो सुपरयाच हुनेछ । बीबीसीबाट
प्रतिक्रिया दिनुहोस्