‘जुवाडे’ छुटाउन मेयर र उपमेयरको धर्ना !

जुवाडेको आरोपमा पक्राउ परेकाहरुलाई बोकेर सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय जान लागेको विंगर । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित तरकारी बजारबाट सोमवार पक्राउ परेका १३ जना जुवाडेहरुलाई छुटाउन लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, उपमेयर शान्ती लामा सहित विभिन्न राजनैतिक दलका नेताहरुले प्रहरीलाई दबाब दिएका छन् ।

frontline

मंगलबार बिहान कार्यालय समय सुरु हुनासाथ पक्राउ परेका १३ जनालाई जुवातास ऐन अन्तर्गत अनसुन्धानका लागि म्याद लिन मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय लैजान खोज्दा दर्जनौं महिला सहित स्थानीयले अवरोध गरेका थिए । ईलाका प्रहरी कार्यालय लालबन्दी परिसरमा मंगलबार मध्यान्ह देखि लालबन्दी नगरपालिकाका मेयर खड्का, उपमेयर शान्ति लामा, एमाले नेता डिल्ली अधिकारी लगायतको उपस्थिती रहेको थियो । मेयर सहितको टोलीले जिल्ला प्रशासन कार्यालयबाट म्याद नलिई पक्राउ परेकालाई छोड्न भन्दै दबाव दिएको प्रहरी स्रोतले जनायो ।

पक्राउ परेकहरुका आफन्त सहित स्थानीयको भिड बढ्दै गएपछि लालबन्दी प्रहरी कार्यालयमा थप मद्धतका लागि ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्यवसिंह भाट, ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साह लगायतको नेतृत्वमा सुरक्षाकर्मी खटाईएको थियो । दिउँसो दुई बजेतिर प्रहरीले कडा सुरक्षाबीच पक्राउ परेका १३ जनालाई म्याद थपका लागि विंगरमा हालेर सदरमुकाम मलंगवा लगेको छ ।

अहिले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई तत्काल छाड्न भन्दै दबाब दिन मेयर खड्का सहितको टोली जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेको बताईएको छ । ‘बकाईदा तास खेलिरहेको अवस्थामा रकम सहित पक्राउ परेका जुवाडेलाई छुटाउन मेयर र उपमेयर जस्ता पदाधिकारी प्रहरी कार्यालयमै आउनु यो भन्दा लज्जास्पद विषयक के हुन सक्छ ?’, एक प्रहरी अधिकृतले व्यंग्य गरे, ‘अनि जुवातास खेलेर लाखौं सम्पति नष्ट गर्नेहरुलाई निसर्त छोड्दे भन्दै आउने परिवारका सदस्यहरु पनि कस्ताखालका हुन् ।’

लालबन्दी नगरपालिकाका मेयर खड्काले भने पक्राउ परेका आफन्तहरुले आग्रह गरेपछि आफू प्रहरीकोमा गएको बताए । पेशेवर जुवाडे नभई तरकारी व्यापारीहरुले मनोरञ्जनका लागि तास खेलेको भन्ने सुनेपछि आफू प्रहरी कार्यालयमा गएको र सार्वजनिक ठाउँमा तास खेलिरहेको अवस्थामा पक्राउ परेपछि निर्दोषै त भन्न मिलेन भन्दै आवश्यक कार्बाही प्रकृयाका लागि सहज बनाउनका लागि आफन्तहरुलाई फर्काईदिएको मेयर खड्का बताउँछन् । लालबन्दी प्रहरी कार्यालय भित्र रहेको प्रतिक्षालयमा बसिरहेका मेयर खड्का र उपमेयर लामा सहित राजनैतिक नेताहरु दिउँसो संचारकर्मीहरुको टोली पुग्ने वितिकै जर्याकजुरुक उठेर हिँडेका थिए । उनीहरुले मूलगेटमा धर्ना दिएर बसेकालाई सम्झाई बुझाई फिर्ता गर्दै पक्राउ परेकालाई मलंगवा पठाउन सहजीकरण गरेका थिए ।

लालबन्दी नगरपालिका ७ स्थित डुमडुमेमा रहेको तरकारी बजार स्थित एक होटलबाट लालबन्दी प्रहरीको टोलीले सोमबार साँझ कृषि उपज बजार समितिका अध्यक्ष दरेश चौधरी, तरकारी व्यापारी सहित १३ जुवाडेलाई १ लाख ५४ हजार ४४५ रुपैयाँ नगदसहित पक्राउ गरेको थियो ।

प्रहरी नायब उपरीक्षक भाटले कसैले दबाब दिँदैमा पक्राउ परेकालाई नछाडिने र कानून अनुसार कार्बाही प्रकृया अगाडी बढाउनु नेपाल प्रहरीको दायित्व भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here