जुम्लामा विभिन्न मासु पसलबाट बिग्रिएको करीब एक क्विन्टल मासु जफत गरी नष्ट
खलंगा । जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करीब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ ।
व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो ।
अनुगमन टोलीले भारतीवाडा, कार्कीवाडा, कालेखोली र विमानस्थल लाइनमा सञ्चालित फ्रेसहाउस, मासु पसल र दैनिक खाद्यवस्तुको अनुगमन गरेको थियो ।
यसक्रममा खुला र अव्यवस्थित रूपमा बिक्री गर्दै गरेको अवस्थामा चार व्यवसायीको पसलबाट माछा र मासु जफत गरिएको सहायक प्रजिअ चौलार्गांले जानकारी दिए ।
‘खुला ठाउँमा मासु बिक्री गर्दै गरेका तीन व्यवसायीको पसलबाट राँगा र भैंसीको एक क्विन्टल मासु तथा आठ किलो माछा जफत गरी सो मासु नष्ट गरिएको छ ।
हामीले यसअघिको अनुगमनका क्रममा खुला नालामाथि माछामासु बिक्री नगर्न भनेका थियौं । व्यापारीले अटेर गरेपछि जफत गरिएको हो,’ उनले भने, ‘सडेगलेको र कुहिएको मासु बिक्री गरेको पाइएपछि उपभोक्ताको हितका लागि जफत गरिएको हो । सडेगलेको मासुले बजार नै दुर्गन्धित बन्दै गएको छ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमृतसुमन भूषणका अनुसार बजारका ६ मासु पसलसहित १८ खाद्य पसल अनुगमन गरी ६९ हजार ७४० रुपैयाँ बराबरको सामान नष्ट गरिएको थियो ।
व्यापारीले खुला रूपमै कुहिएको मासु बेच्दा र महिनौंदेखि नगरपालिकाले फोहोर नउठाउँदा बजार दुर्गन्धित बनेको चौलार्गांले बताए ।
प्रतिक्रिया दिनुहोस्