जापानमा एकैदिन अढाई लाख बढी सङ्क्रमित
२ भदौ, काठमाडौं । जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ । यो सङ्ख्या हाल सम्मकै सबैभन्दा बढी हो ।
यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो ।कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ ।
टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् । जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड -१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैया पाउन कठिन भएको बताएका छन् ।
यसैबीच, आज सिङ्गापुरमा तीन हजार पाँच सय ५३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै सिङ्गापुरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १८ लाख नौ हजार दुई सय २१ पुगेको छ । त्यसैगरी आज उक्त सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार कोभिड १९ बाट सिङ्गापुरमा हालसम्म एक हजार पाँच सय ७२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्