जागरण अभियानमा देखिएनन् पासाङ, जिम्मेवारीबारे सोच्दै प्रचण्ड

१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी, स्थायी समिति र केन्द्रीय समितिको बैठकमा निरन्तर सहभागी भएका नन्दबहादुर पुन पासाङ तराई मधेश जागरण अभियानमा भने देखिएका छैनन् ।
नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू यही फागुन १२ गतेदेखि सुरु भएको तराई–मधेश जागरण अभियान अन्तर्गत विभिन्न जिल्ला भ्रमणमा छन् । जबकी यो अभियान घोषणा गर्ने केन्द्रीय समितिको बैठकमा पासाङ उपाध्यक्षको लहरमा बसेका थिए ।




दुई कार्यकाल पूर्व उपराष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका पासाङ पुनः राजनीतिमा सक्रिय हुन खोजेको विषयलाई लिएर कतिपयको चासो रहेका बेला पासाङ माओवादीको जागरण अभियानमा भने नदेखिएका हुन् ।
अभियानका क्रममा बुधबार विराटनगरमा भएको पत्रकार भेटघाटमा पासाङको विषय उठ्यो । पत्रकारहरूको प्रश्नमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङले पार्टीको औपचारिक जिम्मेवारी पाउन बाँकी रहेकाले अभियानमा सहभागी नगराइएको बताए ।
पासाङलाई पार्टीमा कुन तहको जिम्मेवारी दिने भन्ने विषयमा समेत निर्णय हुन बाँकी रहेको प्रचण्डले सुनाए ।
‘नन्दबहादुर पुनलाई ल्याउने (अभियानमा ल्याउने) बारेमा कुनै विवाद भएको छैन । तर प्रदेशका साथीहरुको राय सुझाव पनि बुझेर मात्रै उहाँलाई औपचारिक जिम्मेवारी दिँदा ठीक हुन्छ भन्ने हुनाले औपचारिक जिम्मेवारी अथवा हामीले उहाँलाई उपाध्यक्ष दिने यहो या सचिव दिने हो या त उपमहासचिव बनाउने हो भन्ने बारेमा निर्णय गरिनसकेको हुनाले अभियानमा नल्याएको हो’ प्रचण्डले भने ।

तर, यसअघि गत पुस २१ गतेदेखि २३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा भने पासाङ उपाध्यक्षको लहरमा बसेका थिए । त्यसबेला पासाङलाई उपाध्यक्षको जिम्मेवारी दिने तयारी रहेको नेताहरूको बुझाइ थियो ।
तर, बुधबार अध्यक्ष प्रचण्डले नै उपाध्यक्ष, सचिव वा उपमहासचिव के जिम्मेवारी दिने भनेर तय नै नभएको बताएका हुन् । अर्थात, प्रचण्डका अनुसार पासाङले पार्टीभित्र कुन तहको जिम्मेवारी पाउँछन् भन्ने तय भएको छैन ।
रोल्पाका पासाङ माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धमा लडाकु कमान्डर थिए । माओवादी विद्रोहमा सहभागी हुनुअघि उनी शिक्षण पेसामा थिए । शिक्षक पेसा छाडेर सशस्त्र युद्धमा होमिएका उनी शान्ति प्रक्रियापछि पार्टी राजनीतिमा सक्रिय थिए ।
दोस्रो संविधानसभाको निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार भए । तर, नेपाली कांग्रेसका गगन थापासँग पराजित भएका थिए । संविधान जारी भएपछि भने उनलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।
उपराष्ट्रपतिको रुपमा पासाङ २०७२ देखि २०७९ सालसम्म रहे । २०७९ चैत २ गते उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि पासाङ बाहिरिएका हुन् ।
त्यसयता लामो समय राजनीतिमा निष्क्रिय रहेका पासाङ गत कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा सहभागी भएका थिए । त्यसयता माओवादीको नियमित बैठकमा सहभागी हुँदै आएका उनी जागरण अभियानमा भने देखिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्