जहाँ कैदीले कैदीलाई पढाउँछन्

तीन वटै विद्यालयका प्रधानाध्यापक कैदी बन्दी नै हुन् । कति वर्षको कैद तोकिएको हो, त्यति समयसम्म उनीहरू प्रधानाध्यापक हुन पाउँछन् । कैद समय सकिएपछि सिनियरको आधारमा अर्को प्रधानाध्यापक चयन हुन्छ ।

२६ फागुन, काठमाडौं । विद्यालय भन्नेवित्तिकै सबै विद्यार्थीले पढ्न पाउँछन् भन्ने दिमागमा आउँछ । तर सुन्धारास्थित केन्द्रीय कारागारभित्र रहेका विद्यालयमा कैदी बन्दीले बाहेक अरूले पढ्न र पढाउन पाउँदैनन् ।

frontline

केन्द्रीय कारागारको कम्पाउन्डभित्र तीन वटा विद्यालय छन्,  बन्दी विकास आधारभूत विद्यालय, महिला बन्दी विद्यालय र जगन्नाथ माध्यामिक विद्यालय । यी तीन वटै विद्यालयमा विद्यार्थी र शिक्षक सबै कैदी बन्दी मात्र छन् ।

‘पढ्ने अनि पढाउने दुवै कैदी बन्दी मात्र हुन्छन्,’ कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराका कारागार प्रशासक कृष्णबहादुर कटुवालले भने, ‘यहाँ १२ कक्षासम्म पढाइ हुन्छ ।’

उनका अनुसार बन्दी विकास आधारभूत विद्यालय ८ कक्षासम्म, महिला बन्दी विद्यालयमा ५ कक्षासम्म र जगन्नाथ माध्यमिक विद्यालयमा १२ कक्षासम्म पढाइ हुन्छ ।

८१ वर्षसम्मका विद्यार्थी

यी विद्यालयमा १९ देखि ८१ वर्षसम्मका विद्यार्थी अध्ययनरत छन् । कक्षा १ र ३ मा दुई/दुई जना ८१ वर्षका पढ्छन् । ‘बच्चालाई भन्दा ठूलालाई पढाउन गाह्रो हुनेरहेछ । बुढ्यौली दिमागलाई सिकाउन समय लाग्दोरहेछ,’ महिला बन्दी विद्यालयकी प्रधानाध्यापकले भनिन् ।

तीन वटै विद्यालयका प्रधानाध्यापक पनि कैदी बन्दी नै हुन् । कति वर्षको कैद तोकिएको छ, त्यति समयसम्म उनीहरू प्रधानाध्यापक हुन पाउँछन् । ‘कैद समय सकिएपछि सिनियरको आधारमा अर्को प्रधानाध्यापक चयन हुन्छ,’ प्रशासनक कटुवालले भने ।

कारागारका तीन वटै विद्यालयमा सानो कक्षामा ठूलो उमेरका र ठूलो कक्षामा सानो उमेरका विद्यार्थी अध्ययनरत छन् । ‘११ र १२ कक्षामा पढ्ने कम उमेरका हुनुहुन्छ । १० भन्दामुनिको कक्षामा ठूलो उमेरका हुनुहुन्छ,’ कटुवालले भने ।

विद्यालयमा लाइब्रेरी छ, टीभी छ । विद्यार्थीहरूले किताब र पत्रपत्रिका पढ्न पाउँछन् । तीन वटै विद्यालयका प्रधानाध्यापका अनुसार मोबाइल फोन र इन्टेरनेट भने चलाउन पाइँदैन । ‘यहाँ आएपछि पढाइको महत्त्व बुझिने रहेछ,’ बन्दी विकास आधारभूत विद्यालयका कटुवालले भने ।

बन्दी विकासमा १७३ विद्यार्थी

बन्दी विकास आधारभूत विद्यालयमा ८ कक्षासम्म १७२ जना विद्यार्थी छन् । कक्षा १ मा ३३, कक्षा २ मा २३, कक्षा ३ मा २५, कक्षा ४ मा १७, कक्षा ५ मा २२, कक्षा ६ मा १९, कक्षा ७ मा २२ र कक्षा ८ मा १२ जना विद्यार्थी छन् । ६ वटा कक्षा कोठा र १० जना शिक्षक छन् । विद्यालयमा १ जना कार्यालय सहयोगी राखिएको छ ।

‘विद्यालयको खर्चदेखि शिक्षकको तलब काठमाडौं महानगरले उपलब्ध गराउने गरेको छ,’ प्रशासक कटुवालले भने । बन्दी विकासमा दुई वटा सत्रमा पढाइ हुने गरेको छ । ‘बिहान ६ बजेदेखि साढे ९ सम्म र बेलुका ६ बजेदेखि सवा ८ सम्म पढाइ हुन्छ,’ उनले भने ।

महिला बन्दी विद्यालय १५० विद्यार्थी

महिला बन्दी विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । जसमा १५० जना विद्यार्थी अध्ययनरत छन् । कारागार प्रशासक कटुवालका अनुसार कक्षा १ मा ४९, कक्षा २ मा ३२, कक्षा ३ मा ३१, कक्षा ४ मा २२ र कक्षा ५ मा १६ जना छन् ।

महिला बन्दी विद्यालय ४ कोठाको छ । ८ जना शिक्षक र १ जना कार्यालय सहयोगी छन् । यो विद्यालयमा बिहानी सत्रमा कक्षा हुन्छ । ‘बिहान ७ बजेदेखि साढे १० बजेसम्म हुन्छ,’ कटुवालले भने ।

जगन्नाथ माध्यमिक विद्यालयमा ३९६ जना विद्यार्थी

जगन्नाथ माध्यमिक विद्यालयमा ३९६ जना विद्यार्थी अध्ययनरत छन् । यो विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । जसमा कक्षा १ मा ३९, कक्षा २ मा ४०, कक्षा ३ मा ४६, कक्षा ४ मा ३५, कक्षा ५ मा २५, कक्षा ६ मा २१, कक्षा ७ मा १६, कक्षा ८ मा २१, कक्षा ९ मा २४, कक्षा १० मा १९, कक्षा ११ मा ६१ र कक्षा १२ मा ४९ जना विद्यार्थी छन् ।

यो विद्यालयका ६ वटा कोठा छन् । १३ जना शिक्षक र एक जना कार्यालय सहयोगी छन् । जगन्नाथमा बिहान र बेलुका दुई सत्रमा पढाइ हुन्छ । ‘बिहान ६ देखि ९ बजेसम्म र बेलुका ५ देखि साढे ९ सम्म हुन्छ,’ प्रशासक कटुवालले भने ।

यो वर्ष १९ जनाले एसईई दिँदै

जगन्नाथ माध्यमिक विद्यालयबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १९ जना विद्यार्थी सहभागी हुँदैछन् । ‘एसईई परीक्षाको तयारी भइरहेको छ । १ जना महिला र १८ जना पुरुष छन्,’ कटुवालले भने । गत वर्षको एसईईमा २५ जना विद्यार्थी सहभागी भएका थिए ।

‘गत वर्ष सबै विद्यार्थी उत्तीर्ण भएका छन् । ३.६ जीपीए ल्याउने विद्यार्थी पनि छन्,’ प्रशासक कटुवालले भने । एसईईको परीक्षा केन्द्र पनि जेलभित्र नै तोकिएको हुन्छ । तर परीक्षाको लागि केन्द्राध्यक्ष भने परीक्षा बोर्डले खटाएको हुन्छ ।

‘एक वर्ष शिक्षण गर्दा वर्षमा ७२ दिन कट्टा हुन्छ । जेलभित्र रोजगारी पनि हुन्छ,’ प्रशासक कटुवालले भने ।

उच्च शिक्षा पूरा गरेका शिक्षकहरूले पढाउने भएकाले तीन वटै विद्यालयको नतिजा राम्रो रहेको छ । माध्यमिक विद्यालय (१०–१२) मा स्नातक र स्नातकोत्तर उत्तीर्ण गरेका शिक्षकले पढाउँछन् । महिला बन्दी ५ कक्षासम्मको भएकाले १२ कक्षा र स्नातक उत्तीर्ण गरेकाले पढाउँछन् ।

तीन वटै विद्यालयमा निःशुल्क पठनपाठन हुन्छ । यदि पढ्दापढ्दै कैदको समय सकिएमा समुदायमा गएर फेरि अध्ययन गर्न सक्छन् । ‘यहाँ जति कक्षासम्म उत्तीर्ण गरेको हो, त्यसको सर्टिफिकेट दिन्छौं । जेलबाट छुटेपछि बाहिर गएर पनि पढ्न सक्छन्,’ प्रशासक कटुवालले भने ।

पढाएवापत वर्षको ७२ दिन कट्टा

उच्च शिक्षा उत्तीर्ण गरेकाले विद्यालयमा पढाएमा वर्षको ७२ दिन कट्टा हुने व्यवस्था गरिएको छ । जेलभित्र त्यत्तिकै बस्नुभन्दा कैद अवधि पनि घट्दै जाने र काम पनि हुने भएकाले उच्च शिक्षा पूरा गरेकाले पढाउने गरेका छन् ।

पढाएवापत काठमाडौं महानगरले तलब पनि दिने गरेको छ । जेलबाट छुटेपछि भने उनीहरूको जागिर सकिन्छ । ‘एक वर्ष शिक्षण गर्दा वर्षमा ७२ दिन कट्टा हुन्छ । जेलभित्र रोजगारी पनि हुन्छ,’ प्रशासक कटुवालले भने ।

उच्च शिक्षा पढ्न वञ्चित

महिला बन्दी विद्यालयकी प्रधानाध्यापकले १२ कक्षा मात्र उत्तीर्ण गरेकी छिन् । उनी उच्च शिक्षा पनि पढ्न चाहन्छिन् । तर कारगारभित्र उच्च शिक्षाको कक्षा छैन । २०७९ सम्म उच्च शिक्षा पनि थियो । तर त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गरेपछि कैदीबन्दीले उच्च शिक्षा पढ्न पाएका छैनन् । १२ उत्तीर्ण गरेर बसेका १ सय जना विद्यार्थी छन् । उनीहरू उच्च शिक्षा पढ्नबाट वञ्चित भएका छन् ।

५० जना विद्यार्थी उच्च शिक्षाको लागि भर्ना भएका तर पढ्न नपाएको प्रधानाध्यापकहरूले बताए । तीन वटै विद्यालयका प्रधानाध्यापकले जेलभित्रै त्रिविले परीक्षा केन्द्र तोक्नुपर्ने र उच्च शिक्षा पढ्ने वातवरण बनाइदिनुपर्ने माग राखेका छन् ।

जेलभित्र उच्च शिक्षा नहुँदा स्वअध्ययन गर्नुपर्ने र बाहिर परीक्षा दिन जान समस्या हुने उनीहरूको गुनासो छ । ‘पढ्न पाउने अधिकार हो । त्यसैले अदालतमा रिट पनि परेको छ,’ तीन वटै विद्यालयका प्रधानाध्यापकहरूले भने, ‘जेलभित्र उच्च शिक्षा पढ्ने र केन्द्रको व्यवस्था गरियोस् ।’

जेल होइन, होस्टेल बसेजस्तो लाग्छ

कैदी बन्दीहरू अचेल जेलमा बस्दा पहिले जस्तो गाह्रो स्थिति नरहेको बताउँछन् । जेलभित्र नयाँनयाँ काम र गतिविधिमा संलग्न हुने गरेकाले सहज भएको उनीहरुको भनाइ छ ।‘नयाँनयाँ कुरा सिक्न पाएका छौं । भोलि समाजमा गएर घुलमिल हुन सहज हुन्छ । अचेल जेल जेलजस्तो लाग्दैन । होस्टेलमा बसेको जस्तो हुन्छ,’ तीन वटै विद्यालयका प्रधानाध्यापकहरूले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here