जसपामा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पार्टीबाट निश्कासन गरेलगत्तै यादव कारबाहीमा परेका छन्।

frontline

यादवलाई ठाकुर पक्षले कारबाही गरेको हो।

भट्टराई-यादव पक्षले कार्यकारिणी समिति बैठक बोलाएर ठाकुर र महतोसहित नेताहरु सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई ‍पार्टीबाट निश्कासन गरेको छ।

भट्टराई-यादव पक्षले कारबाहीको पत्र आयोगमा पठाइसकेको समेत जनाएको छ।

आफूहरूमाथि कारबाही गरेलगत्तै ठाकुर-महतो पक्षले पनि यादवलाई पार्टीबाट निश्कासन गरेको छ।

आफूहरूले यादवलाई कारबाही गरेको ठाकुर निकट नेता सुरेन्द्र झाले बताए।

‘उहाँहरूले कारबाही गरेर केही हुने होइन। हामीले पनि उपेन्द्रजीलाई कारबाही गरिसकेका छौ,’

उनले भने, ‘दुई पटकसम्म सोधिएको स्पष्टिकरणको जवाफ नआएपछि उपेन्द्रजीलाई पार्टीबाट निश्कासन गरिएको छ।’

सरकार गठन प्रक्रियालाई लिएर जसपा विभाजनको संघारमा पुगेको हो।

जसपाको ठाकुर-महतो पक्षले वर्तमान सरकरलाई साथ दिएको छ।

यो समूह केपी ओली नेतृत्वको सरकारमा जाने अन्तिम तयारीमा छ।

तर भट्टराई-यादव पक्ष भने ओलालाई हटाउने पक्षमा छन्।

जसपाको कार्यकारिणी समितिमा भट्टराई-यादव पक्षको बहुमत छ भने विघटित प्रतिनिधि सभामा ठाकुर-महतोको बहुमत छ।

प्रतिक्रिया दिनुहोस्

poster-here