जसपाका सांसदले आफ्नो क्षेत्रमा बजेट नपारेको भन्दै चर्काचर्की

२६ जेठ, काडमाडौं । जनता समाजवादी पार्टी (जसपा)का एक सांसदले आफ्नो क्षेत्रमा बजेट नपारेको भन्दै मन्त्रीसँग बाझाबाझ गरेका छन् ।

बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने जसपा सांसद रामबाबु यादवले आफ्नो क्षेत्रको एउटा पनि योजनामा बजेट नपारेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठसँग चर्काचर्की गरेका हुन्। मन्त्री श्रेष्ठ जसपाका शीर्ष नेता हुन्।

frontline

बिहीबार दिउँसो निलम्बित सांसद हरिनारायण रौनियारसहित यादव मन्त्रालय पुगेका थिए। आफूले मन्त्रालयमा समयमै योजनाका लागि निवेदन दिएको र बजेटमा नपारिएको भन्दै सांसद्वय यादव र रौनियारले मन्त्रीसँग आक्रोश पोखेका थिए।

मन्त्रीले प्रष्ट जवाफ दिन नसकेपछि सांसद यादवले टेबल ठटाउँदै बोतल टेबुलमा बजारेका थिए। तत्कालै मन्त्रीको सचिवालयबाट सुरक्षाका लागि सिंहदरबार सुरक्षा गणमा खबर गरिएको थियो। मन्त्रालय पुगेको प्रहरीलाई मन्त्री श्रेष्ठ आन्तरिक कुरा भन्दै फिर्ता पठाएका थिए।

सांसद यादवले बजेट नपार्नको कारण के हो भनेर आफूले प्रश्न गरेको बताए। ‘नपार्नुको कारण के हो भनेर सोधे। कर्मचारी बोलाउनुस् भने।

म सँग किन पूर्वाग्रही भइयो भने,’ उनले भने, ‘सम्बन्धित कर्मचारीले उहाँको माग ढिलो भयो भनेर भन्यो। तर फाइल मगाएर हेर्दा मैले समयमै दर्ता गराएको रहेछु। पछि कर्मचारीले होइन गल्ती भयो सच्याउनुपर्छ, भरपाइसहित गर्नुपर्छ भन्यो।’  

यादवले आफ्नो निर्वाचन क्षेत्रमा एउटै बजेट पनि नपरेपछि मन्त्रालय धाउनुपरेको बताए।

निलम्बित सांसद रौनियारले समानुपातिक मन्त्री बन्ने, निर्वाचित सांसदहरु फुटपातमा घुम्ने भन्दै आक्रोश पोखेका थिए। ‘समानुपातिक सांसदहरु मन्त्री खाने, मनलाग्दी बजेट लैजाने, निर्वाचितलाई बजेट नदिने, ठूल्ठूलो नेताहरु र आफ्नो क्षेत्रमा लाने, आफ्नो स्वार्थमा लाने,’ उनले भने, ‘हाम्रो पार्टीबाट मन्त्रीहरु भएर पनि हामीलाई बजेट नदिने?’

उनले पार्टीका मन्त्रीको कार्यशैलीका कारण सबै सांसदहरु असन्तुष्ट रहेको बताए।

प्रहरीको उच्च स्रोतले पनि सुरक्षाका लागि मन्त्रीको सचिवालयबाट खबर आएको बताए। ‘सामान्य प्रशासन मन्त्रालयबाट तत्काल प्रहरी पठाइदिन खबर आयो।

प्रहरी निरीक्षकको कमाण्डमा मन्त्रीको कार्यकक्षमा टोली पुग्यो। प्रहरीलाई देखेपछि मन्त्रीज्यूले यो आन्तरिक कुरा हो। तपाईंहरु जानुस् भनेर फिर्ता पठाउनुभयो,’ प्रहरीले स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here