जयसिंह धामी वेपत्ता प्रकरणमा प्रतिवेदन आउन ढिलाइ भएकोमा नेताद्वारा असन्तुष्टि
काठमाण्डु । सत्तारुढ गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी वेपत्ता प्रकरणमा छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका नेताहरुले तत्काल प्रतिवेदन ल्याउन, सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।
बैठकमा डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लगायतले तत्काल प्रतिवेदन ल्याउन, सरकारको अडान प्रष्ट पार्न र त्यसका आधारमा भारतसँग वार्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।
साउन १५ मा महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तार खुस्काइदिँदा जयसिंह धामी खसेका थिए । महाकालीमा खसेका धामी अहिलेसम्म फेला परेका छैनन् ।
घटनाबारे छानविन गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ । तर समितिले अहिलेसम्म प्रतिवेदन तयार पारेको छैन । गृहमम्त्री खाँणले भने प्रतिवेदन तयार पार्न केहि समय लाग्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्