जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अनिश्चित

रेशम चौधरी पक्राउबारे समीक्षा गर्न बाँकी
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिचको एकता प्रक्रिया अनिश्चित बनेको छ ।




वैशाख १७ गतेका लागि एकता घोषणा कार्यक्रमको आयोजना गरिए पनि कार्यक्रम स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता प्रक्रिया भाँडिएको हो ।
सर्वोच्च अदालतको नक्कली पत्रको आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेर डिल्ली बजार कारागारमा राखिएको थियो । सर्वोच्च अदालतले नै पत्र अनधिकृत भएको बताएपछि उनलाई रिहा गरिएको थियो ।
उनी रिहा भएपनि दुई पार्टीबिच एकता सुनिश्चित भएको छैन । दुवै पार्टीका नेताहरूले एकता हुने निश्चित भन्दै आएका छन् । तर, एकता कहिले हुने कुराको जवाफ कसैले दिइरहेका छैनन् ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीका अध्यक्ष राउत व्यस्त भएको कारण एकता प्रक्रिया लम्बिएको बताइन् । उनले भनिन्,‘एकता हुन्छ, दलहरूका नेताहरू व्यस्त भएको कारण समय तोक्न सकिएको छैन, चाँडै नै एउटा मिति घोषणा गरेर एकता हुन्छ ।’
जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले पनि एकतामा कुनै व्यवधान नभएको बताए । दुवै पार्टीका शीर्ष नेताहरू आआफ्नो पार्टी साङ्गठनिक कार्यमा व्यस्त रहेको कारण पार्टी एकतामा केही ढिलाइ भएको बताए ।
उनले भने, ‘रेशम चौधरी पक्राउ परेको विषयमा अझै पार्टीमा समीक्षा भइरहेको छ, दुवै पार्टी संयुक्त रूपमा बसेर पनि समीक्षा गर्नेछन् घटनाको विषयमा एउटा निष्कर्षमा पुगेपछि एकताको प्रक्रिया अगाडि बढ्छ ।’
जनमत पार्टीका अध्यक्ष राउत पार्टीका विभिन्न कार्यक्रम लिएर जिल्ला जिल्ला पुगि रहेका छन् । पार्टी प्रवेश कार्यक्रमदेखि लिएर नेता तथा कार्यकर्ता भेटघाटका लागि उनी मधेस दौडाहामा छन् ।
यता नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको बारे समीक्षा गर्दै पाँच घण्टाको जेल यात्रा बारेमा लेख्ने कार्यमा लागेका छन् । दुवै पार्टीका नेता व्यस्त भएको कारण एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
जनमत पार्टीका एक नेताले भने, ‘रेशम चौधरी पक्राउको घटनाले हाम्रो अध्यक्ष सिके राउतलाई निकै गम्भीर बनाएको छ, उहाँले यो पक्राउ प्रकरणलाई गम्भीर रूपमा लिनुभएको छ, यो घटनाको पुरै छानबिन भएर एउटा ठोस निष्कर्ष नआएसम्म एकता हुने सम्भावना देखिँदैन ।’
‘एक त पार्टीमा आन्तरिक विवाद चलिरहेको छ, एकताका लागि सबै कुरामा अझै सहमति बन्न सकेको छैन । त्यही भएर अब सबै कुरा स्पष्ट गरेर नै एकताका लागि अगाडि बढ्ने कुरा हुन्छ,’तीन नेताले रातोपाटीसँग भने ।
सिके राउत पार्टी एकताका लागि अब हतार गर्ने पक्षमा नदेखिएको उनी बताउँछन् । यता नागरिक उन्मुक्ति पार्टीमा पनि त्यही अवस्था छ । पार्टी एकताका लागि पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ त्यति सकारात्मक नरहेको सोही पार्टीका कतिपय नेताहरू बताउँछन् ।
सुरूदेखि नै उनी जनमत पार्टीसँगको एकतामा सकारात्मक थिइनन् । एकताका लागि रेशम चौधरीलाई उनले रोकेकी पनि थिइन् तर चौधरी र राउत अगाडि बढी सकेपछि रञ्जिता पनि बाध्य भएर साथ दिएकी थिइन् ।
नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले रेशम चौधरीलाई पक्राउ परेको विषयमा छानबिन गरेर सत्यसत्य बाहिर नल्याए सरकार छाड्ने चेतावनी समेत दिएका थिए ।
जनमत पार्टीले पनि संसद्मा रेशम चौधरी पक्राउ परेको विषय उठाएको थियो । उक्त विषयमा गृहमन्त्री रमेश लेखकले जवाफ समेत दिइसके पनि अझै दुवै पार्टीबिच एकताको टुङ्गो छैन ।
जनमत पार्टीका एक नेताले भने, ‘दुवै पार्टीका नेताहरुले एक अर्कामाथि शङ्का गरेको कारण एकता प्रक्रियामा ब्रेक लागेको हो ।’ पार्टीको विधान, पदाधिकारीलगायतका विषयमा अझै टुङ्गो लागेको छैन । पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने भएको छ भने चुनाव चिन्ह ढकिया राखिएको छ ।
पार्टीको अध्यक्षमा राउत रहने तथा संरक्षकमा रेशम चौधरी र सह अध्यक्षमा रञ्जिता श्रेष्ठ रहने टुगों लागे पनि बाँकी विषयमा अझै टुङ्गो लाग्न सकेको छैन ।
#जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी
प्रतिक्रिया दिनुहोस्