जनप्रतिनिधि र कर्मचारीको चरम लापर्बाहीका कारण धरान उपमहानगरको ९ करोड रकम फ्रिज

२९ असार, धरान । स्थानीय जनप्रतिनिधि र कर्मचारीको चरम लापर्बाहीका कारण चालु आर्थिक वर्ष २०७८/७९ मा धरान उपमहानगरपालिकाको ९ करोड रकम फ्रिज भएको छ। 

संघीय सरकारले धरानलाई दिएको पौने ८ करोड र प्रदेश सरकाले दिएको १ करोडभन्दा बढी रकम फ्रिज भएको हो।  

frontline

संघीय सरकारले धरान उपमहानगरको शिक्षा र विद्यालय सुधार कार्यक्रम, खानेपानी आयोजना निर्माण, स्वास्थ्य सुधार कार्यक्रम, कोभिड १९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण लगायतका शीर्षकमा विनियोजन भएको ७ करोड ८४ लाख १९ हजार २८० रुपैयाँ काम नगरिएका कारण फ्रिज भएको धरान उपमहानगरपालिकाका लेखा अधिकृत भेषराज अधिकारीले जानकारी दिए। 

त्यस्तै प्रदेश सरकारले उपलब्ध गराएको विकास निर्माणलगायतका शीर्षकमा विनियोजन गरेको गरेको १ करोड ५ लाख ६१ हजार ६ सय १३ रुपैयाँ पनि काम नगरेकै कारण फ्रिज भएको उनले बताए। 

धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीको वेवास्ताका कारण कोभिड-१९ महामारीबाट मृत्यु भएका र रोगको संक्रमणमा परेका अतिविपन्न परिवारले समेत राहत पाएनन्। 

कोभिड-१९ को महामारीबाट प्रभावित भएका धरानका १ हजार ६ सय ६३ अति विपन्न परिवारलाई जनही १० हजारका दरले नगद वितरण गर्न १ करोड ६६ लाख ३० हजार रकम संघीय सरकारले धरान उपमहानगरपालिकालाई उपलब्ध गराएको थियो। 

तर तत्कालीन मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीको वेवास्ताका कारण उक्त रकम पीडितहरुलाई वितरण गर्न नसकिएको नगरपालिका स्रोतले जानकारी दिएको छ। 

कोभिड-१९ महामारीबाट प्रभावितलाई संघीय सरकारले उपलब्ध गराएको रकम हालमा मेयर हर्क साम्पाङ र अईन्द्र विक्रम बेघालेसमेत वितरण नगर्दा उक्त रकम फ्रिज भएको छ। 

नेपाल बसोवास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले जनप्रतिनिधिहरुको वेवास्ताका कारण कोभिड पीडितहरुलाई आएको अनुदान फ्रिज हुनुले निम्न आयश्रोत भएका सुकुम्वासिहरु सरकारले दिएको सुविधाबाट बञ्चित भएको बताए। 

यसैगरी धरानको विकट मानिएको दुर्गम पहाडी क्षेत्र वडा नम्बर ४, ५ र २० नम्बर वडामा खानेपानी योजनाका लागि आएको ४३ लाख ३८ हजार ३ सय ८४ रुपैयाँ पनि काम नभएकै कारण फिर्ता भएको छ। 

धरान-१३ स्थित पब्लिक माविको भवन निर्माणका लागि आएको ५२ लाख ५२ हजार २१ रपैयाँ पनि काम नगरेकै कारण फिर्ता भएको लेखा अधिकृतले बताएका छन्। 

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले कतिपय काम सम्पन्न गरी बचत भएको बजेट र धेरैजसो काम गर्न नसकेकै कारण बजेट फ्रिज भएको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here