जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको छ : मन्त्री बडू

११ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् ।

बुधबर उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

frontline

उनले सरकारको स्वामित्वमा सञ्चालन भइ नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरुको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताए ।

मन्त्री बडूले सरकारले राष्ट्रिय उत्पादन बढाउनको निम्ति भएका उद्योगहरुको क्षमता बृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताए ।

उनले पुराना उद्योगहरु पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र सरकारको स्वामित्वमा रुग्ण उद्योगहरु निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भएपनि सञ्चालनमा ल्याउने उल्लेख गरे ।

मन्त्री बडूले अहिले सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल,जनकपुर चुरोट कारखाना,हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग,गोरखकाली रबर उद्योग बन्द रहेको बताए ।

उनले मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न, आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

उनले भने, ‘नेपाल सरकारले प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम र बजेट पास गरेको छ । सरकारले राष्ट्रिय उत्पादन बढाउनको निम्ति भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने योजनाहरु छन् ।

स्वदेशी र विदेशी लगानी कर्ता नयाँ उद्योग खोल्नको लागि आकर्षण गर्न धेरै नीति तथा कायक्रम बनाएका छौं । पुराना उद्योगहरु पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र त्यसको अतिरिक्त बन्द भएका नेपाल सरकारको स्वामित्वमा रहका केही समय चलेर रुग्ण भएका उद्योगहरु चलाउने नीति सरकारको छ ।’

उनले थपे, ‘त्यसमा जनकपुर चुरोट कारखाना पनि सरकारले चलाएर निकै नाम कमाएको उद्योग हो । तर अहिले निकै बेहाल अवस्थामा रहेको देखियो । अहिले कारखानाको सम्पती कति उपयोग गर्न सक्ने अवस्थामा छौं ।

उद्योग चलाउँदा पुराना मेसिनहरु कति उपयोगमा आउनसक्छन् । किन उद्योग चलाउन सकिन्न । त्यसको पनि सरकारले अध्ययन गर्नुपर्छ । अब उद्योग कसरी चलाउने । उद्योग चलाउनको लागि एक्लै सरकारले नसक्दा निजी क्षेत्रसँग सहकार्य गरेर चलाउनु पर्छ । निजी क्षेत्रलाई लिजमा दिएर नाफा कमाएर सरकारलाई राजश्व तिर् भन्न पनि सकिन्छ ।

अहिले बन्द रहेका विराटनगर जुटमिल,जनकपुर चुरोट कारखाना,हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग,गोरखकाली रबर उद्योग सरकारी स्वामित्वमा भएका पनि बन्द भएका छन् । निजी क्षेत्रका उद्योग पनि बन्द भएका छन् । उनीहरुलाई पनि राज्यले केके सहुलियत दिनुपर्छ, चलाउनुपर्छ ।’

बन्द भएका उद्योग चल्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री बडूले अहिलेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी रहेको बताए । उनले भनेका छन्, ‘हामी धेरै आयातमुखी भएका छौं । मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिन्छ ।

जसले निर्यात गर्नसक्छ त्यस्ता उद्योग बढाउन सक्छ । निर्यात उद्योग चलाउनको लागि सरकारले विशेष सहुलियत दिने सरकारले नीति बनाएको छ । बन्द उद्योग चलाउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्छौं ।’

मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी रहेको बताए । उनले मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिने दाबी गरे । मन्त्री बडूले अब निजी क्षेत्र र सरकार दुवैले निर्यातजन्य उद्योग स्थापना गर्नुपर्ने बताए ।

उनले सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति बनाएको समेत बताए । मन्त्री बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here