प्रधानमन्त्रीकाे निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोप्रति कांग्रेस नेता महर असन्तुष्ट

समाचार सारांश

  • नेपाली कांग्रेसका नेता नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगितप्रति असन्तुष्टि जनाए।
  • उनले प्रधानमन्त्रीको निर्देशनमा बैठक रोकिनु प्राज्ञिक संस्थाका लागि सुखद नभएको बताए, जसले शिक्षाप्रति सरकारको उदासीनता देखाउँछ।
  • बैठक स्थगित हुनु र प्रधानमन्त्रीको हुम्ला भ्रमणले त्रिविका कार्यक्रम प्रभावित हुने देखिएको छ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले असन्तुष्टि जनाएका छन्।  कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) को सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको महरले बताएका हुन् । 

frontline

‘१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ। यसबेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोकिनु शोभनीय विषय होइन,’ कांग्रेस केन्द्रीय समिति बैठक बाहिर केन्द्रीय कार्यालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै महरले भने।

विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाउनुपर्ने उनको धारणा छ। यसले नेपालको शिक्षाप्रति सरकार उदासीन रहेको सन्देश जानसक्ने उनले औँल्याए। विद्यालय शिक्षा ऐन लामो समयदेखि बहसमा छ, १५ असारभित्रै शिक्षा ऐन ल्याउने सरकारको प्रतिबद्धता पुरा भएको छैन। सरकार र संसद्ले कानुन बनाउने काममा खासै सफलता हात पार्न सकेको छैन । यसले जनतामा सरकारप्रतिको विश्वास थप खस्किने र निराशा बढ्ने महरको भनाइ छ।

‘त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) पारित गर्न डाकिएको बैठक कुलपतिकै निर्देशनपछि रोकिनु राम्रो होइन। प्रधानमन्त्रीले सुधारको बाटो जानु आवश्यक छ, प्राज्ञिक थलोलाई सोही अनुसार अगाडि बढाउनुपर्छ। परीक्षा, भर्नालगायतका सम्पूर्ण गतिविधि पनि वार्षिक क्यालेन्डर अनुसार नै अगाडि बढाउनुपर्छ,’ उनले भने।

त्रिविले तिथिअनुसार वार्षिक सभा डाक्ने गर्छ। प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले असार शुक्ल नवमी (शुक्रबार) मा हुनुपर्ने बैठक आइतबारका लागि तय भए पनि फेरि प्रधानमन्त्रीको निर्देशनमा स्थगित भएको हो।

त्रिविले योजना परिषद् कार्यकारी परिषदबाट बजेट पारित गर्दै सभामा पेस गर्ने तयार गरेको थियो। सभाबाट पारित भएपछि मात्र बजेट लागू हुन्छ। सभामा सहभागी हुन उपत्यकाबाहिरका प्राध्यापक सदस्यसमेत काठमाडौँ आइसकेका थिए।

प्रधानमन्त्री ओली भने त्रिविको सिनेट बैठक स्थगित गरेर आइतबार पुल उद्घाटन गर्न हुम्ला जाने भएका छन्। यसले त्रिविका सबै कार्यक्रम प्रभावित हुने देखिएको छ।

#नैनसिंह महर #त्रिवि शिक्षा #राजनीति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here