जग्गा बेच्न नदिएको निहुँमा आमाको हत्या, छोरा पक्राउ

श्रोत : ईन्टरनेट

७ चैत, पोखरा । पोखरामा वृद्धा हत्याको आरोपमा उनकै छोरा पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

frontline

उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आमाको जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ओमबहादुरले पोखरा महानगरपालिका–१२ स्थित घर र जग्गा बेच्न खोजेका थिए । तर आमा नौमायाले बेच्न मानेकी थिइनन् ।

त्यसपछि माटेपानी बस्ने साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा हत्यामा सहयोग मागेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।

‘आमालाई मारिसकेपछि साथी गुरुङलाई जग्गा, घर बेच्ने र त्यसपछि एकलाख रुपैयाँ नगद दिन्छु भनेर भनेको रहेछ,’ सोमबार आरोपित सार्वजनिक गर्दै डीएसपी तिवारीले भने ।

३ चैतमा फागु पूर्णिमाको दिन मदिरा सेवन गरेका ओम र उनका साथी राति घर आएर नौमायाको हत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि दुवै जना कुमारकै घरमा गएर बसेको खुलेको प्रहरीले जनाएको छ ।

‘टोलछिमेकमा हेर्दा पनि कसैले पनि हत्या उनकै छोरा ओमले गरेको भन्ने शंकै थिएन । राम्रोसँग केयर गर्दै आइरहेको भन्ने बुझिएको थियो,’ डीएसपी तिवारीले भने, ‘अहिले अनुसन्धानका क्रममा दुवै आरोपीले घटना आफूहरुले घटाएको स्वीकारिसकेका छन् ।’

उनीहरुमाथि ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here