जंगली हात्तीको आतंक, तीन जना घाइते

फाइल तस्बिर

२९ मंसिर, विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ देवीझोडामा जंगली हात्तीले आतंक मच्चाएको छ। हात्तीको आक्रमणमा परेर तीन जना घाइते भएका छन्। 

हात्तीले आक्रमण गर्दा सुरेन राईकी श्रीमती अस्मिता र ५ महिनाका छोरा क्यालबिन राई घाइते भएको वडा सदस्य नरबहादुर मगरले जानकारी दिए।

frontline

उनका अनुसार हात्तीले लछारेर घाइते बनाएका आमा–छोराको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका अनुसार अस्मिताको देव्रे खुट्टा र करङ भाँचिएको छ। दुवै जना खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

मंगलबार राति ९ बजेतिर जंगलबाट आएको हात्तीले सुरेनको घरमा पनि क्षति पुर्‍याएको वडा सदस्य मगरले बताए।

उनका अनुसार टिनको छानो र टाटीबेरा लगाएर बनाइएको घरमा क्षति पुर्‍याउँदा ३० हजार बराबरको क्षति भएको छ।

हात्तीले घरमा राखेको धान, चामल, मकै लगायतका अन्न पनि खाइदिएको जानकारी मगरले दिए। 

त्यस्तै हात्तीले देवीझोडाकै गजेन्द्र लिम्बूको घरमा पनि क्षति गरेको छ। टिनको छानो र काठको बेरा भएको घरमा हात्तीले क्षति गरेको मगरले बताए।

उनका अनुसार घर बनाउनलाई ल्याएको सिमेन्टका बोरा र कर्कटपाता पनि हात्तीले बिगारिदिएको छ। 

हात्तीको आक्रमणमा परेर गजेन्द्रकी नातिनी १७ वर्षीया प्रतीमा लिम्बू गम्भीर घाइते भएकी छन्। उनको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

वडा सदस्य मगरका अनुसार सुरेनको घरमा मंगलबार राति ९ बजेतिर र गजेन्द्रको घरमा बुधबार बिहानका राति २ बजेतिर दुईवटाको संख्यामा आएका जंगली हात्तीले क्षति पुर्‍याएको हो।

घरमा क्षति पुर्‍याएर मान्छेलाई आक्रमण गर्न थालेपछि प्रहरीको सहयोगमा स्थानीयले हात्तीलाई लेखेटेका छन्। स्थानीय र प्रहरीले खेदाएपछि हात्ती पश्चिमको जंगलतर्फ लागेको जानकारी मगरले दिए। 

‘जंगलबाट आएका हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयले रातभर सुत्न पाएका छैनन्,’ उनले भने, ‘जंगलबाट गाउँ छिरेर हात्तीले स्थानीयलाई आतंकित पार्ने र बारम्बार दुःख दिने गरिरहेको छ।’

उनका अनुसार गाउँ पसेर हात्तीले मान्छेलाई आक्रमण गर्ने, बालीनाली खाइदिने र घरमा क्षति पुर्‍याउने गरिरहेको हो।

वडाको बैठक राखेर पीडितलाई क्षतिपूर्ति दिने विषयमा निर्णय गर्ने तयारी भइरहेको मगरको भनाइ छ। 

घटनाको अनुसन्धान र हात्तीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्नका लागि इलाका प्रहरी कार्यालय केराबारीबाट नायव निरीक्षक (सइ) शेरबहादुर पराजुली नेतृत्वको टोली खटिएको छ।

पराजुली नेतृत्वको टोलीले घटनास्थलमा पुगेर हात्तीले पुर्‍याएको क्षतिको विवरण संकलनमा केन्द्रित हुँदै घटनाको अनुसन्धान थालेको हो। 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here