छाउनीको क्यान्टिनलाई २० हजार जरिवाना
२९ कार्तिक, काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छाउनीमा रहेको सुनिल क्यान्टिनलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।
आर्मी अस्पतालले ठेक्कामा लगाएको उक्त क्यान्टिनले सरसफाइमा ध्यान नदिएको भन्दै विभागको अनुगमन टोलीले २० हजार रुपैयाँ जरिवाना गरेको हो ।
विभागका अनुसार प्रशोधित पानीमा बढी पैसा लिएको उजुरी परेपछि टोलीले अनुगमन गरेको थियो । त्यसक्रममा क्यान्टिनमा अत्याधिक फोहोर फेला परेको विभागका निरीक्षक अधिकृत धनेश्वर पौडेलले बताए ।
‘उजुरी पानीमा बढी मूल्य लिएको भन्ने थियो, मूल्य हेर्दा त्यस्तो देखिएन । मूल्य सूची पनि थियो,’ विभागका निरीक्षक अधिकृत पौडेलले भने, ‘तर, सरसफाइमा ध्यान दिएको देखिएन ।
फोहोर धेरै देखिएकाले जरिवाना गरेका छौं ।’ विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिमको कसुर गरेको भन्दै जरिवाना गरेको जनाएको छ ।
उक्त कसुरमा दफा ३९ को उपदफा १ को खण्ड ‘क’ बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको विभागको भनाइ छ । ‘तत्काल सुधार गर्न निर्देशन पनि दिएका छौं,’ पौडेलले भने, ‘फलोअप अनुगमनमा सुधार नदेखिए फेरि जरिवाना हुन्छ ।
’यस्तै, विभागको अनुगमन टोलीले भक्तपुरमा रहेको बस्ताकोटी किराना स्टोर र काठमाडौमा रहेको चन्द्रबिनायक स्विटलाई पनि ५/५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्