छल्दी-ठाढुंगा सडक : ठेकेदारको लापरबाहीले बालिकाको ज्यान गयो, दर्जनौं घर जोखिममा

गुल्मीको छल्दी–ठाढुंगा सडक सडक निर्माणमा ठेकेदारले जथाभाबी गर्दा एक स्कुले बालिकाको ज्यान गएको छ भने दुई दर्जन बढी घर जोखिममा छन् । काम पनि सुस्त हुँदा स्थानीय आजित छन् ।
६ फागुन, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीटार निवासी ८ वर्षीया विष्णु कुमालको निर्माणाधीन छल्दी–ठाढुंगा सडकबाट खसेको ढुंगाले लागेर आइतबार मृत्यु भयो । विद्यालय जान घरबाट हिँडेको पाँच मिनेट नहुँदै माथिबाट खसेको ढुंगाले लागेर उनको ज्यान गएको थियो ।




छोरी गुमाएका ज्ञानबहादुर कुमाल आफ्नो दुई तले घर पनि सडककै कारण जोखिममा परेकाले छिमेकीको घरमा गएर बस्ने गरेको बताउँछन् ।
अर्का स्थानीय यमबहादुर थापा सडक निर्माणको नाममा जथाभाबी खनिएकाले आफ्नो घर पनि जोखिममा परेको बताउँछन् । ‘अलि ठूलो पानी पर्ने हो भने मेरो घर नै भत्किनसक्ने जोखिम छ,’ उनी भन्छन् ।
नेकपा एमालेका सांसद गोकर्ण विष्टको गृह पालिकासम्म जोड्ने गरी छल्दी–गुरुवा–ठाढुंगा सडक निर्माण भइरहेको छ । पूर्वमन्त्री समेत रहेका एमाले नेता विष्टले यो सडकलाई गुल्मीको ग्रामीण क्षेत्रकै ‘उत्कृष्ट’ बनाउने आश्वासन दिएका थिए । तर सडक निर्माणको काम सुस्त र लापर्बाहीपूर्ण हुँदा स्थानीय आजित छन् ।
इस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लोकनाथ आचार्य ठेकेदार कम्पनीले जथाभावी सडक निर्माण गर्दा एक बालिकाको ज्यान गएको र झण्डै ३०/४० घरहरु जोखिममा परेको बताउँछन् ।
सडक निर्माणको विषयलाई लिएर स्थानीयबाट वडा कार्यालयमा धेरैपटक उजुरी आएको बताउँदै उनले भने, ‘ढुंगामाटो टिपरमा राखेर निर्माण व्यावसायीलाई सुरक्षित तरिकाले अनेत्र फाल्न आग्रह गरे पनि व्यावसायीले त्यसो नगर्दा दुःखद घटना भएको छ । ३०–४० घर जोखिममा छन् ।’ उनले स्थानीयको समस्या समाधानका लागि सहजीकरण गरिरहेको बताए ।
काम पनि सुस्त
छल्दीबाट, गुरुवा, हस्तिचौर, मल्दी, उजुङ, ठाढुंगा हुँदै इस्मासम्म जोडिने ५.६ किलोमिटर सडकको स्तरोन्नती गर्ने कामको ठेक्का रौताहा–श्रेष्ठ–ओमबुद्ध जेभीले पाएको छ । उसले २४ करोड ७२ लाख रूपैयाँमा यो सडकको ठेक्का पाएको छ ।
२०८१ साल वैशाख २५ गते निर्माण सम्पन्न गर्ने भनेर २०७९ साल वैशाख २६ गते ठेकेदारसँग सम्झौता भएको थियो । तर दुई वर्षभित्र काम सक्निुपर्नेमा तीन वर्ष पुग्नलाग्दा पनि जम्मा ३० प्रतिशत मात्रै काम भएको छ ।
माघ मसान्तसम्म ३० प्रतिशत भौतिक प्रगति र २८ दशमलव ९२ प्रतिशत वित्तीय प्रगति भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गाप्रसाद गौतमले बताए ।
तोकिएको समयअवधिमा काम नसकिएपछि २०८२ साल मंसिर १० गतेसम्म म्याद थप भएको गौतमले बताए । अहिलेकै गतिमा काम भइरहे थपिएको म्यादभित्र पनि काम सम्पन्न हुने सम्भावना नरहेको इन्जिनियर गौतम बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्