छलकपटपूर्ण समाचारबाट भ्रममा नअल्मलिन माधव नेपालको अपिल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन अपिल गर्नुभएको छ ।
सोमबार चन्द्रागिरि पुगेका अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत वार्ता र सहमतिका भ्रमपूर्ण समाचार सार्वजनिक भइरहेको उल्लेख गर्दै यसलाई पटकपटकको बेइमानी र धोखाधडीको निरन्तरता भएको उल्लेख गर्नुभएको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रोधारका स्थायी कमिटी सदस्यहरूबीच बालकोटमा छलफल भएको थियो । छलफलपछि १० बुँदे सहमति कार्यान्वयन गर्न मंगलबार ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।
तर अध्यक्ष नेपालले ती कुरा छलकपटपूर्ण रहेको बताउनुभएको छ । ‘यसप्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमि एवं क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ नेपालले फेसबुकमार्फत् अपिल गर्नुभएको छ ।
अध्यक्ष नेपालसहित उहाँ पक्षका सांसद र केन्द्रीय सदस्यहरू सोमबार बेलुकीदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बस्नुभएको छ । नेताहरु बुधबार त्यहीँबाट सनाखतका लागि निर्वाचन आयोग जाने तयारीमा रहनुभएको छ ।
नेता नेपालले फेसबुकमा लेख्नुभएको छ :
दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवं जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवं धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्।
अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवं क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु।
प्रतिक्रिया दिनुहोस्