चोलेन्द्र निकट ‘बिचौलिया’ ईनमको साथमा कति भेटिएको थियो अमेरिकी डलर ?

काठमाडौं । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका ईनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । 

प्रहरीको विशेष ब्यूरोले उनलाई असोज १४ मा नयाँ दिल्ली जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

frontline

ईनम विरुद्ध प्रहरीले दुईवटा मुद्दामा अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अनुसारको कसुरमा अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । गैरकानुनी वा आपराधिक क्रियाकलापबाट आर्जन गरिएको कालो धनको स्रोत लुकाएर वैद्य बनाएमा त्यस्ता आरोपी विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिन्छ ।

सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न आरोपीले अपराधबाट सम्पत्ति आर्जन गरेको हुनुपर्छ । त्यसमा सम्बद्ध कसुर (प्रेडिकेट अफेन्स) भएमा मात्र सम्पत्तिमा अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । प्रहरीले ईनमको साथबाट बरामद विदेशी मुद्रा कारोबारलाई सम्बद्ध कसुर दर्ता गरेर अनुसन्धान अघि बढाएको छ । ईनमलाई पक्राउ गर्दा उनको साथमा विदेशी मुद्रा भेटिएको थियो । १४ सय अमेरिकी डलर र थप केही देशको मुद्रा उनको साथमा फेला परेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै विदेशी मुद्राको कारोबार गर्न पाइँदैन । राष्ट्र बैंकको नियमावली तथा परिपत्र अनुसार नेपाली नागरिकले विदेश आउजाउ गर्दा बैंकबाट सटही गरेको विवरण पासपोर्टमा उल्लेख हुनुपर्छ । सीमाभन्दा बढी रकम बरामद भएपछि प्रहरीले उनलाई राष्ट्र बैंकसम्बन्धी कसुरमा अनुसन्धान गरेको हो ।

३१ वर्षका ईनम झापाका स्थानीय हुन् । उनका परिवार बुढानीलकण्ठमा बस्छन् । ईनम काठमाडौँको पानीपोखरी स्थित ‘पानीपोखरी हाइट’ अपार्टमेन्टमा बस्दै आएका थिए । प्रहरीले उनको अपार्टमेन्टमा छापा मारेर त्यहाँ भेटिएका कागजात र डिजिटल सामग्री नियन्त्रणमा लिएको छ ।

पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले ईनमलाई परिचालन गरेर व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको आशङ्का गरिएको छ । चोलेन्द्रलाई पक्राउ गरेर उपत्यका अपराध अनुसन्धान कार्यालउले असोज ११ मा मध्यान्ह रिहा गरेको थियो । ब्यवसायी भट्ट र अग्रवालको सम्पत्ति शुद्धीकरणको मुद्दामा अहिले जेलमा छन् ।

ईनमको मोबाइलको फरेन्सिक जाँच गर्न प्रहरी हेडक्वार्टरको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको काठमाडौँका एसएसपी घिमिरेले बताए । उनले भने, ‘मोबाइल परीक्षण गर्न पठाएका छौँ, रिपोर्ट आएको छैन ।’

पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीको कार्यालयमा भेटेसँगै बर्खास्तीमा परेका सशस्त्रका एआईजी वंशीराज दाहालसँग पनि ईनमको ‘कनेक्सन’ देखिएको छ । सशस्त्रका अर्का एआईजी अन्जनीकुमार पोखरेलले गरेको जाँचबुझ प्रतिवेदन अनुसार दाहाल र सापकोटको बिचमा सम्पर्क देखिएको हो ।

जाँचबुझ समितिमा दाहालले सापकोटासँग संवाद हुने गरेको स्वीकार गरेका छन् । बयानमा दाहालले चिनजान र जिल्लावासी भएको हुनाले ह्वाट्स एप र मोबाइल नम्बरमा कुरा हुने गरेको स्वीकार गरेका हुन् । ह्वाट्स एपमा एआईजी दाहाले ईनमलाई प्रधानमन्त्री बालेन्द्र शाहको ‘लोकेशन’ बारे पनि जानकारी दिएको पुष्टि भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

यसैबिच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार चोलेन्द्रका भाई प्रभु शमशेर जबरा, नवराज थपलिया, दीपक तिमल्सिना, नारायण दाहाल र नवीन बस्नेतको घरमा छापा मारेको थियो । उनीहरू चोलेन्द्रका निकटस्थ हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here