चोलेन्द्रले आरोप लगाएका व्यक्तिसँग महाभियोग सिफारिस समितिले आज बयान लिने

फाइल तस्बिर

३० भदौ, काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो बयानका क्रममा आरोप लगाइएका व्यक्तिहरुसँग पनि महाभियोग सिफारिस समितिले बयान लिने भएको छ ।

समितिको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । बैठकमा पूर्वप्रधानन्यायाधीशरुहरुलाई बोलाएर सोधपुछ गर्ने तयारी रहेको जनाइएको छ ।

frontline

यसअघि बुधबार बसेको समितिको बैठकले जबराले आरोप लगाएका सर्वोच्च अदालतका ६ जना न्यायाधीशहरूलाई बोलाएर सोधपुछ गर्ने निर्णय गरेको थियो ।

तर बहालवाला न्यायाधीशहरु समितिमा उपस्थित हुन नमिल्ने भनी बुधबारै सर्वोच्च अदालतको फुलकोर्ट बसेर निर्णय गरेको थियो । सो निर्णयले न्यायाधीशहरु समितिमा जवाफ दिन नजाने भएका छन् ।

समितिले आज आरोप लागेका पूर्व–प्रधानन्यायाधीशहरुलाई बोलाएर सोधपुछ गर्ने भएको छ । यसका साथै जबराले आरोप लगाएका नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारी तथा अधिवक्ताहरूलाई समेत आजै बोलाएर समितिले सोधपुछ गर्ने बताइएको छ ।

जबरासँग समितिले ४३ प्रश्न सोधेर बयान लिएको थियो । सो क्रममा उनले विभिन्न व्यक्तिहरुमाथि आरोप, लाञ्छना लगाएका छन् । यसबारे सम्बन्धितहरु सबैसँग सोधपुछ गरेर पुनः आवश्यक परेमा जबरासँग थप बयान लिने समितिको तयारी रहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here