चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने पक्राउ
काठमाडौं । भन्सार छली चोरी पैठारी गरी काठमााडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताब लगायतका कागजातहरु तयारी गरी कारोवार हुने गरेको विशेष सूचनाको आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो ।
उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ‘ब्लु बुक’ बनाउनेलाई पनि पक्राउ गर्न सफल भएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए ।
पक्राउ पर्नेमा लमजुङ घर भइ सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चागुँनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भइ शान्तिनगर बस्ने रेवतीरमण निरौला रहेका छन् ।
पक्राउ गरेका निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, होलोग्राम, लाइसेन्स, राहदानी लगायतका सामाग्री बरामद गरिएको खापुङले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको खापुङले बताए ।
यस्तै प्रहरीले ईटाली पठाईदिन्छु भनी तीन जनासँग रु ३१ लाख ५० हजार रकम लिएर अजरवैजानसम्म पुराई बिचल्ली बनाउने एक जनालाई पनि पक्राउ गरेको छ ।
पक्राउ गर्नेमा उदयपुर घर भइ बुढानीकण्ठ बस्ने उमेश रेग्मी रहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्