चीनको नौसेनाद्वारा अस्ट्रेलियाको विमानमा लेजर आक्रमण
८ फागुन, काठमाडौं । चीनको नौसेनाले अस्ट्रेलियाको विमानलाई लेजर आक्रमण गरेको छ । यो आक्रमणका कारण विमानमा रहेका मानिसहरुको जीवन खतरामा परेको थियो ।
अस्ट्रेलियाको रक्षा मन्त्रालयले शनिबार घटनाको जानकारी दिँदै बिहीबार अस्ट्रेलियाको समुद्री गश्ती विमान पी–८एपोसाइडनलाई पिपुल्स लिबरेसन आर्मी नेवीले लेजरले निशाना बनाएको बताएको छ ।
घटना टोरेस जलडमरुमध्यको हो । यो अस्ट्रेलियाको उत्तरी तट र न्यूगिनीको दक्षिणी तटको बीचमा छ । अस्ट्रेलियाको अखबार सिड्नी मर्निङ हेराल्डका अनुसार त्यतिबेला अस्ट्रेलियाको विमानले कोरल सागरमा गश्ती गरिरहेको थियो ।
चिनियाँ नौसेनाले लेजर आक्रमण गरेको कुराको निन्दा गर्दै अस्ट्रेलियाले गैर व्यवसायिक र असुरक्षित सैन्य आचरणका लागि माफी माग्न भनेको छ । यस विषयमा चीनले भने कुनै प्रतिक्रिया दिएको छैन ।
चीनले यसअघि अमेरिकी विमानमा पनि यस किसिमका लेजर आक्रमण गरिसकेको छ । त्यतिबेला चीनले यो कुनै लेजर हतियार नभएको बरु विदेशी सैन्य विमानहरुलाई उनीहरु चीनको क्षेत्रमा प्रवेश गरेको चेतावनी दिने तरिका भएको बताएको थियो ।
लेजर हतियार निकै घातक हुन्छन् । यसबाट केही पलमै पाइलट आँखा नदेख्ने हुन सक्छन् । यसका अलावा यदि लेजर हतियार धेरै शक्तिशाली भए विमानलाई टुक्राटुक्रा पार्न पनि सक्छन् ।
चीनले १०१९ देखि लेजरको प्रयोग गरिरहेको छ । चीनले प्रयोग गर्ने लेजर कति घातक छ भन्ने स्पष्ट छैन ।
प्रतिक्रिया दिनुहोस्