चिसोका कारण महोत्तरीमा बढ्न थाले बिरामी

२२ मंसिर, जलेश्वर । विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ ।

जिल्ला अस्पतालमा उपचारका लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहले बताए । उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको संख्यामा वृद्धि भएको छ ।

frontline

सामान्य अवस्थामा औसतमा ४०/५० बिरामी उपचारका लागि आउने गरेकामा पछिल्लो समय दैनिक १५० सम्म बिरामी उपचारका लागि आउने गरेको डा. साहले बताए ।

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । साथै, आर्थिक रूपले कमजोर व्यक्ति समेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् ।

बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको डा. साहले बताए ।

१० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँबस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर ताप्ने गरेको देखिन्छ ।

यसैबीच, ग्रामीण भेगमा वस्तुभाउसहित कृषिबालीमा पनि चिसोका कारण समस्या भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here