चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चार दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किए

श्रोत ; ईन्टरनेट

३० भदौ, काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज बिहीबार स्वदेश फर्किनु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्शु बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्किनु भएको हो ।

frontline

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले बिदाई गर्नुभयो । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

चार दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय विभिन्न भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो । बुधबार नै चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।

यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । मंगलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । परराष्टमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत गर्नुभएको थियो ।

चिनियाँ नेता ली सोमबार विशेष विमानबाट नै काठमाडौं आइपुग्नुभएको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here